काठमाडौं खबर साउन १२, २०८१
काठमाडौं । रुसमा जन्मदर वृद्धि नहुँदा रुसको भविष्य नै संकटमा परेको भेटिएको छ । क्रेमलिनले शुक्रबार रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहे पनि त्यसले अपेक्षित नतिजा ल्याउन नसकेको बताएको हो । ‘सङ्कटपूर्ण’ जनसाङ्ख्यिकी प्रवृत्तिले मुलुकको भविष्यलाई जोखिममा पारिरहेको चेतावनी दिएको उसको भनाइ छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले ठूला परिवारहरूलाई उदार भुक्तानी र धितो अनुदानको प्रस्ताव गरे पनि सोभियत कालदेखि मुलुकको जन्मदरमा सुधार हुनसकेको छैन । सोभियत सङ्घको पतनपछि रुसले वृद्ध जनसङ्ख्या, युक्रेनमा द्वन्द्वका कारण पुरुषहरूको बहिर्गमन र १७ वर्षमा सबैभन्दा कम प्रजनन् दरजस्ता धेरै जनसाङ्ख्यिकीय चुनौतीहरूको सामना गर्नुपरेको छ ।
‘अहिले यो धेरै न्यून स्तरमा छ अर्थात प्रतिमहिला जन्म एक दशमलव चार । यो युरोपेली मुलुकहरू र जापान आदिको बराबर हो तर यो मुलुकको भविष्यका लागि सङ्कटपूर्ण छ’, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले मिडिया फेस्टिबलमा भने, ‘धेरै बच्चाहरू हुने जो कोही पनि नायक हुन्, हामी विश्वको सबैभन्दा ठूलो देशमा बस्छौँ र हरेक वर्ष हाम्रो सङ्ख्या कम भइरहेको छ, यसलाई सामना गर्ने एक मात्र तरिका भनेको जन्म दर बढाउनु हो ।’
सन् १९९१ मा सोभियत सङ्घको विघटनको समयमा रुसको जनसङ्ख्या करिब १४ करोड ८० लाख थियो । यो सन् १९९० को दशकमा उच्च मृत्यु र कम जन्मको लामो अवधिपछि अहिले करिब १४ करोड ४० लाख भएको छ । सन् २०४० को दशकसम्ममा रुसको जनसङ्ख्या १३ करोडसम्ममा झर्ने जनसाङ्ख्यिकी विशेषज्ञहरूले अनुमान गरेका छन् ।