काठमाडौं । सरकारले तीन सय दिनभित्र त्रिवि क्रिकेट मैदानमा ‘फ्लड लाइट जडान’ र ‘प्याराफिट’ निर्माण गरिसक्ने सरकारले निर्णय गरेको छ । गत असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । यसअघि नयाँ सरकार निर्माण भएपछि प्राथमिकताका कार्यक्रम घोषणा गर्ने क्रममा पनि यस बारेमा छलफल भएको थियो । सोही अनुसार सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेको हो ।
बैठकले बाढीपहिरा जस्ता विपद्का कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसकेको व्यक्तिका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले देशका विभन्न भागमा हालै गएको बाढी पहिरामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण, पीडित परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का विभिन्न समितिमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सम्पूर्ण प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको उनले जानकारी दिए । मन्त्रिपरिषद्ले नेपाल सरकारको रिक्त मुख्यसचिव पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (हाल निमित्त मुख्यसचिव) लीलादेवी गड्तौलालाई कायम मुकायम मुकरर गरेको छ ।