काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का पाँच उत्कृष्ट पुस्तक छनोट गरेको छ । मंगलबार गुठीले २०८० मा प्रकाशित भएका विभिन्न तीन सय चार वटा पुस्तकमध्ये पाँच वटा कृति छनोट गरी सार्वजनिक गरेको हो ।
गुठीले भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपी’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ लाई उत्कृष्ट कृतिमा छनोट गरेको छ । छनोट भएका पाँचमध्ये सबैभन्दा बढी उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।
छनोट भएका कृतिका लेखकलाई बधाई दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले युवा कालदेखि अहिलेसम्म आफ्ना धेरै बानीमा परिवर्तन आए पनि पुस्तक पढ्ने बानी भने अहिले पनि यथावत रहेको भन्दै आम मानिसलाई पुस्तक पढ्ने बानीको विकास गर्न पनि आग्रह गरेका छन् ।
गुठीले २०७९ सालमा ऐंठन पुस्तकका लागि विवेक ओझालाई मदन पुरस्कार अर्पण गरेको थियो । त्यस्तै, जगदम्बा-श्री सम्मान टेकवीर मुखियालाई दिइएको थियो ।