

काठमाडौं । आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरूसँग प्रश्नोत्तर गर्ने भएका छन् । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिन लागेको संसद् सचिवालयले जनाएको छ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको हो । नियमावलीअनुसार प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ । सोहीअनुसार आज सभामुखले सो समय तय गरेका छन् ।
गत असार ३० गते चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभाबाट दुईतिहाइ समर्थनसहित विश्वासको मत प्राप्त गरेका थिए । सांसदसँग ओलीको यो पहिलो प्रश्नोत्तर हो ।