काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवारी नदिने निर्णय गरेका छन्। उनले आफ्ना सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्। बाइडेनले आफ्नो सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन् ।
रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । अमेरिकामा चार महिनापछि मात्रै राष्ट्रपतिको निर्वाचन हुँदैछ । जुनको अन्त्यमा, रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबीच बहस भएको थियो जसमा बाइडेनको प्रदर्शन ‘निराशाजनक’ थियो, त्यसबेलादेखि डेमोक्र्याट नेताहरूले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका थिए।
जो बाइडेनको तर्फबाट उनको निर्णय राष्ट्र र उनको पार्टीको हितमा रहेको भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। मैले फेरि चुनाव लड्ने मनसाय राखेको भए पनि आफ्नो उम्मेदवारी फिर्ता लिई आफ्नो कार्यकालको बाँकी अवधिमा राष्ट्रपतिको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान केन्द्रित गर्नु नै मेरो पार्टी र देशको हितमा हुने विश्वास लिएको छु ।
बाइडेनले पनि एक पोस्टमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेका छन्।
को हुन् कमला ह्यारिस ?
कमला ह्यारिस अमेरिकी इतिहासकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति बनेकी छन्। ह्यारिसले सन् २०१७ देखि सिनेटरको रूपमा क्यालिफोर्नियाको नेतृत्व गर्दै आएकी थिइन्। उनी जमैकन र भारतीय आप्रवासीकी सन्तान हुन्। ह्यारिस अमेरिकी इतिहासमा प्रथम इन्डियन-अमेरिकी र दोस्रो अश्वेत महिला सिनेटरसमेत हुन्।
उपराष्ट्रपति पदका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक पनि माइक पेन्सलाई नै अघि सारेका थिए भने पूर्वउपराष्ट्रपति जो बाइडनले भारतीय-जमैकन मूलकी कमला ह्यारिसलाई अघि सारेका थिए।
५५ वर्षअघि ओकल्यान्डमा जन्मिएकी कमला सान् फ्रान्सिस्को र वासिङ्टनमा बसोबास गर्दै आएकी छन्। सन् २०१६ मा सिनेटमा निर्वाचित उनले क्यालिफोर्नियाकी पूर्वन्यायाधिवक्ता र सान् फ्रान्सिस्कोमा डिस्ट्रिक्ट एटोर्नीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।