![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगितामा पहिलो सफलता हासिल गरेको छ । एसिया कपअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई ६ विकेटले पराजित गरेको हो ।
खेललाई आफ्नो पक्षमा ल्याउनका लागि नेपालको तर्फबाट सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गरेकी थिइन् । कुल ११६ रनको लक्ष्य लिएको नेपालले १६ दशमलव १ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । खड्काले सर्वाधिक ७२ रनको योगदान दिइन । उनले ४५ बल खेल्ने क्रममा ११ चौका प्रहार गरिन् । त्यस्तै रुबिना क्षेत्रीले १० रन बनाइन भने सीता रानामगर र पुजा महतोले समान सात/सात रनको योगदान गरे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । युएईका लागि खुसी शर्माले ३९ बल दुई चौका प्रहार गर्दै ३६ रन बनाइन । त्यस्तै कविशा इगोडागो २२, समाइरा धरनिधर्कले १३ तथा कप्तान इशा रोहित ओजाले १० रन बनाइन । रिथिका राजित छ तथा लावन्या केनी दुई रनमा अविजित रहे ।
नेपालले अब आफनो दोस्रो खेल यही साउन ६ गते पाकिस्तानसँग खेल्नेछ ।