काठमाडौं । सरकारी जागिरमा आरक्षण प्रणालीमा सुधारको माग गर्दै विद्यार्थी आन्दोलनका क्रममा बिहीबार बंगलादेशमा हिंसा भड्किएको छ । राजधानी ढाका र अन्य ठाउँमा भएको हिंसामा कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ । यसरी आन्दोलन सुरु भएयता मृत्यु हुनेको संख्या २५ पुगेको छ । ढाका र अन्य सहरका विश्वविद्यालयका विद्यार्थीहरूले सन् १९७१ मा पाकिस्तानबाट देशको स्वतन्त्रताका लागि लडेका युद्ध नायकका आफन्तका लागि केही सार्वजनिक क्षेत्रका जागिरहरू आरक्षित गर्ने व्यवस्थाको विरुद्ध केही दिनदेखि जुलुस निकाल्दै आएका छन्।
पहिलो आलो पत्रिकाले आफ्नो समाचारमा भनेको छ, ‘कुल १९ जनाको मृत्यु भएको खबर छ । जसमध्ये ढाकामा ९ जनाको, राजधानीको बाहिरी भागमा रहेको सावरमा १ जनाको र दक्षिणपश्चिम मदारीपुर जिल्लामा १ जनाको मृत्यु भएको छ । बंगलादेशमा चर्किएको आरक्षणविरोधी आन्दोलन चर्किएको छ । एक सातादेखि चर्किएको आन्दोलनले झनै उग्र रुप लिँदै आएको छ । प्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ । घटनामा कुनै मानवीय क्षति भए नभएको बारे भने यकिन भइसकेको छैन।
यसरी हिंसा बढ्न गएपछि सरकारले मोबाइल र इन्टरनेट बन्द गरिएको छ । स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारी साधन र एउटा कार्यालय भवनमा आगो लगाएको बताए । बङ्गलादेशको प्रहरी बलले यो साता निजामती सेवा भर्ती नियममा सुधारको मागसहित जारी विद्यार्थीहरूको विरोध प्रदर्शनमा हिंसात्मक कारबाहीलाई तीव्र बनाएको छ । यो साता अहिलेसम्म भएका झडपहरूमा कम्तीमा २५ जनाको मृत्यु भइसकेको छ ।