काठमाडौं खबर असार ३१, २०८१
काठमाडौं । सात खेलमा अपराजित रहँदै स्पेनले युरोकप २०२४ को उपाधि जितेको छ । योसँगै स्पेनले सर्वाधिक युरोकप जित्नेको रेकर्ड ब्रेक गर्दै स्पेन चौथो पटक च्याम्पियन बनेको हो ।
इंग्ल्याण्ड भने लगातार दोस्रो पटक उपविजेतामै रोकिएको छ । यसअघि २०२१ मा भएको युरोको फाइनलमा इंग्ल्याण्ड घरेलु मैदानमै इटलीसँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो ।
स्थानीय समय अनुसार आइतबार जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले उपाधि जितेको हो । जितका लागि स्पेनका निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए ।
स्पेनले सन् १९६४ को दोस्रो संस्करणमा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो । स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ ।