काठमाडौं खबर असार २२, २०८१
काठमाडौं । बेलायतको आमनिर्वाचनमा ठूलो जित हासिल गर्दै १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ । हाउस अफ कमन्सका ६५० सिटका लागि भएको निर्वाचनमा ६४१ सिटमध्ये ४१० सिटमा जित हासिल गरेको छ ।
प्रधानमन्त्री ऋषि सुनकको नेतृत्वमा चुनाव लडेको कन्जरभेटिभ पार्टीले एक सय १९ सिट मात्र जितेको थियो । हार स्वीकार गर्दै प्रधानमन्त्री ऋषि सुनकले आमनिर्वाचनमा पार्टीको कमजोर प्रदर्शनको जिम्मेवारी लिएका छन् । उनले लेबर पार्टीका नेता कियर स्टाररलाई जितमा बधाई दिएका छन्।
बेलायती संसद्को हाउस अफ कमन्सको ६५० सिटका लागि भएको निर्वाचनमा बहुमतको जादुई आंकडा ३२६ सिट हो र लेबर पार्टीको संख्या योभन्दा धेरै हो । लेबर पार्टीको भारी जित र कन्जरभेटिभ पार्टीको ठूलो पराजयसँगै सानो पार्टी रिफर्म युके र त्यसका नेता निगेल फराजको पनि चर्चा छ ।
नाइजेल फराजले हाउस अफ कमन्समा पुग्नका लागि सात पटक चुनाव लडेका थिए तर हरेक पटक पराजय भोग्नुपरेको थियो । ६० वर्षीय नाइजेल फराजले आफ्नो आठौं प्रयासमा जित निकाल्दै हाउस अफ कमन्समा पुग्न सफल भएका छन् ।