काठमाडौं । विश्वकप जितेपछि कप्तानसहित तीन भारतीय खेलाडीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् । आइतबार रवीन्द्र जडेजाले पनि सन्यास लिएसँगै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने खेलाडीको संख्या तीन पुगेको हो ।
यसअघि शनिबार खेल सकिनेबित्तिकै टिमका कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहलीले सन्यास घोषणा गरेका छन् । शनिबार बार्बाडोसमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतीय टोलीले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको थियो । १७ वर्षपछि खेल जितेपछि भारतभर हर्षोल्लास छाएको थियो । खेल सकिएपछि अन्तर्वार्ता दिएर शर्मा र कोहलीले सन्यास लिएका थिए ।
आइतबार इन्स्टाग्राममार्फत ३५ वर्षीय जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । “कृतज्ञताका साथ टी–२० अन्तर्राष्ट्रिय खेललाई अलबिदा । मैले मेरो देशका लागि सधैँ आफ्नो उत्कृष्ट प्रदर्शन गरेँ र त्यसलाई अन्य ढाँचाहरूमा पनि जारी राख्नेछु । टी–२० विश्वकप जित्नु सपनाजस्तै थियो । तपाईंहरूको अटल विश्वासका लागि धन्यवाद,” उनले लेखेका छन् ।