काठमाडौं । टी २० विश्वकपको फाइनल खेल आज राति सवा आठ बजेदेखि सुरु हुँदैछ । वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा हुने दुई टोलीबीचको फाइनल भिडन्त नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ ।
आजको मौसमका कारण समयमा खेल हुन नसके रोकिएकै अवस्थामा आइतबार पुनः खेल सुरु हुनेछ । आज खेल हुने दुई टोलीमध्ये जुन टोली विजयी भए पनि विश्वकपको इतिहासमा अपराजित रहेर उपाधि जित्ने पहिलो टोली बन्नेछन्।
मौसमविद्हरुका अनुसार आज हुने फाइनल खेलमा पानी पर्ने सम्भावना ५० प्रतिशत छन् । फाइनल खेलका लागि आईसीसीले एक सय ९० मिनेट अतिरिक्त समय छुट्याएको छ।
वर्षाले खेल प्रभावित भए कम्तीमा १० ओभरको खेल खेलाएर भए पनि विजेता घोषणा गर्ने निर्णय आईसीसीले गरिसकेको छ। शनिबार वर्षाले खेल अवरुद्ध भए आइतबार रोकिएको अवस्थाबाटै खेल सुरु हुनेछ। आइतबार २० प्रतिशत वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ।
रिजर्भ डेमा पनि खेल हुन सकेन भने भारत र दक्षिण अफ्रिका संयुक्त रूपमा विजेता हुनेछन्।