काठमाडौं खबर असार १३, २०८१
काठमाडौं । काठमाडौं महानगरपालिकाले नियमित पानी पर्न थालेसँगै डेङ्गुको प्रकोप बढ्न सक्ने भन्दै सचेतना अभियान सुरु गरेको छ । डेंगु फैलिनुअघि नै यसको निराकरणका लागि जुट्नुपर्ने भन्दै सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने काम समेत सुरु गरेको हो ।
महानगरपालिकाको स्वास्थ्य विभागका अनुसार असार ९ गतेदेखि सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । डेङ्गु नियन्त्रण्क ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार यस अभियानमा ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।
अभियान अनुसार पानी जमेका खाल्डा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका छन् । साथै, लार्भा नष्ट गर्न लार्भिसाइड नामक जैविक औषधिको प्रयोग गरिएको पनि महानगरपालिकाले जनाएको छ ।