

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले विभिन्न नौ वटा सहकारीबाट कागजात झिकाउने निर्णय गरेको छ । बुधबार बसेको बैठकले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएकोसहित नौ सहकारीको फाइल मगाउने निर्णय भएको समितिका एक सदस्यले जानकारी दिए ।
बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोप गृहमन्त्री लामिछानेमाथि लाग्दै आएको छ । यो कागजात मगाएपछि १५ दिनभित्र गृहमन्त्री लामिछानेसहित यो मुद्दामा नाम जोडिएकाहरूलाई समेत बयानका लागि बोलाउने तयारी गरेको छ ।
निर्णय गरेपछि समितिका सभापति सूर्य थापाले समितिलाई कार्यादेशमा दिइएको अनुसूची २ का सहकारीका कागजात माग गर्ने निर्णय भएको बताए । विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमका सम्बन्धमा पनि कागजात माग गर्ने निर्णय भएको उनको भनाइ छ । उनका अनुसार आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, साहरा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारीबाट कागजात माग गरेको हो । यस्तै, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको पनि समितिले कागजात माग गरेको हो ।
पोखराको सूर्यदर्शनका बचतकर्ताले रविविरुद्ध प्रहरीमा जाहेरी नै दिएका छन्। समितिको बुधबार बसेको बैठकले सूर्यदर्शन, सुप्रिम, चितवनको सहारा सहकारी लगायतका ९ वटा सहकारीको लिखित प्रतिवेदन मगाउने निर्णय गरेको छ। यस्तै, गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारी र संस्थाको वर्तमान अवस्थाको पूर्ण जानकारी समेत मगाएको छ।
गोरखा मिडिया नेटवर्क प्रालिमा रवि प्रबन्ध निर्देशक थिए। सो कम्पनीले ग्यालेक्सी फोर के टीभी सञ्चालन गरेको थियो। त्यही भएर विशेष समितिले गोरखा नेटवर्कको तत्कालीन र वर्तमान पदाधिकारीसहित कार्यसमिति विवरण समेत मगाएको छ। विशेष समितिलाई तीन महिनाको समय दिइएको छ। बुधबार समितिले सहकारीका विज्ञ भनेर चिनिएका दीपकप्रकाश बास्कोटा र केशव बडालसँग छलफल गरेको थियो।