काठमाडौं । गृह मन्त्रालयले दुई दिनमा अवकाश हुने डीआईजी पोषराज पोखरेललाई एआईजीमा सिफारिस गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका कानुन व्यवसायी सुशील पन्तका नातेदार समेत रहेका पोखरेललाई सिफारिस गर्न गृहमन्त्री रवि लामिछानेले दबाब दिएपछि मन्त्रालयले दुई दिनमा सेवा निवृत्त हुने पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो ।
मन्त्रालयका सचिवस्तरीय निर्णयबाट सोमबार उनी बढुवाका लागि सिफारिस भएका हुन् । पोखरेल यही असार २१ गते ५६ वर्षे उमेर हदका कारण सेवा निवृत्त हुँदैछन् । १९ असारबाट एआईजी उमेशराज जोशी अवकाशमा गएपछि एआईजीको दरबन्दी खाली हुँदैछ । सोही खाली दरबन्दीका लागि उनलाई सिफारिस गरिएको हो । यसरी जम्मा दुई दिनका लागि उनलाई सिफारिस गरेपछि गृहको यो निर्णय विवादमा परेको छ ।
नेपाल प्रहरीमा एआईजी पदमा पुगेका प्रहरी अधिकारीलाई विशिष्ट श्रेणीको सुविधा दिने गरिएको छ । गृहमन्त्री लामिछानेसँग निकटताकै आधारमा लाउन बढुवा गर्न लागिएको भन्दै प्रहरीभित्र असन्तुष्टि समेत बढेको हो । विगतमा दरबन्दी खाली नभइ एकैपटक एसएसपी, डीआईजीमा बढुवा सिफारिस गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसो नगर्न प्रहरीलाई सचेत समेत गराएको थियो । तर त्यसलाई लत्याउँदै गृहमन्त्री लामिछानेकै निर्देशनमा यस्तो सिफारिस भएको हो ।