काठमाडौं । नेपालको निजामती इतिहासमै पहिलो पटक मु्ख्यसचिवमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा मुख्यसचिव डा बैकुण्ठ अर्यालविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जनही रु ३८ करोड ६७ लाख १७ हजार छ सय ४० बिगो माग दाबीसहित मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। मुख्यसचिव अर्यालसहित ११ जना कर्मचारी र एउटा कम्पनी तथा त्यसका निर्देशकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार मुख्यसचिव अर्याललाई यसअघि नै मुद्दा दायर हुँदैछ भन्ने सूचना भए पनि उनले राजीनामा दिन अटेरी गरेका थिए । तर आइतबार मुद्दा दायर भएसँगै निलम्बनमा पर्ने देखेपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाउन पुगेका थिए । तर प्रचण्डले केही समय कुर्न भनेपछि उनी फर्किएको स्रोतको भनाइ छ । प्रचण्डको त्यही भनाइका कारण अर्याल ऐतिहासिक बहिर्गमनमा परे । अन्यथा उनले मुद्दा दायर हुनभन्दा पहिले नै राजीनामा दिएका हुन्थे ।
को-कोविरुद्ध पर्यो मुद्दा ?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रहेका बेला सुरक्षण मुद्रण विकास समितिका तत्कालीन अध्यक्ष (हाल मुख्यसचिव) डा अर्यालसहित, आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक एवं हाल अर्थसचिव रितेशकुमार शाक्य, सोही विभागका तत्कालीन उपमहानिर्देशक एवं हाल भन्सार विभागका उपमहानिर्देशक टङ्कप्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल रहेका छन् । पौडेलविरुद्ध यसअघि पनि अख्तियारले सुरक्षण मुद्रण प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।
यस्तै, आन्तरिक राजस्व विभाग, सामान्य प्रशासन शाखा एवं खरिद इकाई तत्कालीन निर्देशक गणेश विक्रम शाही र तत्कालीन शाखा अधिकृत रविन्द्रप्रसाद पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन शाखा अधिकृत हरिवल्लभ घिमिरे, लेखा अधिकृत विष्णुप्रसाद गौतम र सोही केन्द्रका तत्कालीन खरिद विज्ञ शक्तिप्रसाद श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको हो । यसैगरी अन्तःशुल्क स्टीकर छपाइको ठेक्का पाएको कम्पनी प्रिन्टसेल र निर्देशक केशव शर्मालाई पनि प्रतिवादी बनाइएको छ ।