बर्दिया । बर्दिया राष्ट्रिय निकुन्जमा विदेशी पर्यटक मनग्ये देखिन्छ । गर्मी चढ़ेसँगै बाघ हेर्नका लागि युरेपका थुप्रै पर्यटक बाघ हेर्न वर्दिया पुगेका छन् । बर्दिया राष्ट्रिय निकुन्जले युरोपदेखि आएका पाउनलाइ खासै महत्व नदिए पनि होटेलहरूमा हप्तौँदेखि बाघ हेर्न कुरिरहेका पर्यटकहरू कोही पैदल त कोही जीप सफारीमा हरेक दिन जंगल पुग्छन् । जंगल पुगेका पर्यटकले कतिपय पटक बाघ देख्छन् तर पनि धित नमरेर उनीहरू बसाई लम्ब्याइरहेका हुन्छन् ।
केही दिनदेखि बर्दिया प्रचण्ड गर्मी बढेको छ । ३८ देखि ४० डिग्री तातोमा बाघ हेर्न कुरिरहेका बाधप्रेमीहरू बर्दिया निकुन्जमा पानीको अभाव देखेर आँत्तिएका देखिन्छन् । बनको रक्षा गर्ने निकुन्जले सुकेका खोला र पानीमा डुब्न नपाएर आकुलब्याकुल भएका बाघ गैँडाको हालत देख्न नसकेर उनीहरू चिन्तित देखिन्छन् । बर्दिया निकुन्जमा वर्षेनी आइपुग्ने स्विडेनकी इलाले भनिन्, ‘यही हालत हो भने, जुन महिनामा बर्दियामा बाघ र गैँडा पानी खान नपाएर मरेको खबर सुन्न पर्ने हुन्छ ।’
कणर्ाली छेवैमा रहेको किँङफिसरमा भेटिएकी इलाले राष्ट्रिय निकुन्जमा व्यवस्थापनको नाममा केही पनि नभएको भनेर गुनासो गर्दै भनिन्, ‘यस्तो पनि राष्ट्रिय निकुन्ज हुन्छ ? नेपालको राष्ट्रिय निकुन्जका कर्मचारीलाई जनावरको माया छ जस्तो मलाई लागेन ।’ कणर्ालीको सानो भंगालोमा बग्ने हालतमा नरहेको पानीको श्रोत देखाउँदै उनले भनिन्, ‘यस्तो तातो पानीमा कसरी बाघ आउँछ र हामी हेर्न कुरिरहेका छौँ ?’
इलाले भनेझैँ त्यो दिन किंगफिसरमा बाघ देखिएन । त्यो दिन पैदल जंगलभित्र पुगेका सबैले एउटै कुरा महशुस गरे ‘खोलामा पानी नभएकाले बाघ देख्न पाइएन ।’ कालाबन पुगेको एकहुलले एउटा गैँडा देख्नु बाहेक बिहान ७ बजेदेखि साँझ ६ बजेस्म बर्दिया निकुन्जको पैदल क्षेत्रमा कसैले जनावर देखेनन् । साँझ फाँटहरूमा देखिएको चित्तल हेरेर उनीहरूले चित्त बुझाए ।
बर्दिया निकुन्जमा बाघ हेर्न ५ दिनदेखि संघर्ष गरिरहेका इंगल्यान्डका जेसेफ बर्ड १३ दिन भारतको काजिरंगा र बान्धवगढ नेसनल पार्क पुगेर आएका रहेछन् । उनले बर्दिया राष्ट्रिय निकुन्जको कर्मचारीहरू ठीक नरहेका बताए । जैविक विवधता विषयमै विद्यावारिधी गरेका वर्डले भने, ‘यहाँको जैविक विवधतामा ठूलो संकट छ । पानीको स्रोतका बारेमा निकुन्ज आफै सचेत देखिदैन । पानीको अभावमा जनवारबीचमा झगडा हुने सम्भावना देखिन्छ । पानीबिना बाघ र गैँडा कल्पना पनि गर्न सकिदैन । तर निकुन्जले यो बारेमा ध्यान दिएको मैले देखिन ।’ आफूले वार्डेनलाइ भेटेर केहि कुरा गर्न चाहे पनि वार्डेनले भेट नदिएको उनले गुनासो गरे । भारतमा दैनिक सफ़ारीमा जाने जीपको निश्चित संख्या र कोटा हुने तथा पैदल जंगल जानेहरूको कोटा हुने भन्दै नेपालमा झिसमिसेदेखि साँझसम्म जंगलभरी मान्छे र गाडीको घ्यार्घुर देखेर आफू चकित परेको वर्डले बताए ।
बर्दिया राष्ट्रिय निकुन्जमा जर्मन पर्यटकको लामै ताँती छ । ती सबै बाघ हेर्नकै लागि ठूला ठूला क्यामरा लिएर आइ पुगेका हुन् । जर्मन पर्यटकमध्येका ६० वर्षीय फेलिक्सले सुकेको गेरूवा नदी देखाउँदै भने, ‘हेर्नुस् यो नदी, मुस्किलले मान्छेको पैताला भिज्ने पानी छ, यहाँ जनावर कसरी रमाउन सक्छन् ? गोहीको बंश नै नास हुने अबस्था देखियो । चित्तलहरूले कहाँ गएर पानी पिउने अब ? चराचुरूङ्गीहरूले पानी पिउने कसरी ?’ फेलिक्सले प्रश्ननै प्रश्न तेर्साए ।
बढ्दो तापक्रम र पानी अभाव देखेर सबैभन्दा दुःखी बर्दिया राष्ट्रिय निकुन्जका गाइडहरू छन् । उनीहरू निकुन्जले कणर्ालीको भंगालो बर्दिया निकुन्जतिर ल्याउन पहल नगरेको कुरा टुलुटुलु हेरिरहेका छन् । तर आवाज उठाउन सकेका छैनन् । आवाज उठाउने गाइडलाई निकुन्जकोवार्डेनले सिधै कार्बाही गर्ने थालेपछि गाइडहरू चुपचाप छन् ।
केही दिन अघि हाल वर्दिया राष्ट्रिय निकुन्जका वरिष्ठ संरक्षण अधिकृत(वार्डेन) डा. अशोक कुमार रामको एक अन्तर्वार्तामा टिप्पणी गरेको भन्दै एक गाइडको लाइसन्स सस्पेन्ड गरेको मात्र हैन उनको जीपसमेत ७ दिन चल्न नदिइएपछि गाइडहरू चुपचाप छन् । ‘सभ्य भाषामा गरेको कमेन्टमा त यति ठूलो कारबाही भयो भने यो समस्यामा हामीले निकुन्जलाइ दोष देखायोँ भने त हाम्रो रोजीरोटीमा नै संकट आउँछ’ एक गाइडले कुनै हालतमा पनि नाम नलेख्ने सर्तमा भने ।
- केशव पाठक