काठमाडौं । एक्काइसौं बीडी त्यागी स्मृतिको अवसरमा हरेक वर्ष झैँ २०८१ सालमा बीडी त्यागी स्मृति केन्द्रले पाँच प्रतिभालाई बीडी त्यागी स्मृति सम्मान प्रदान गर्ने निणर्य गरेको छ । केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको कार्य समिति बैठकले बीडी त्यागी स्मृति सम्मान २०८१ वरिष्ठ साहित्यकार प्रा डा हेमनाथ पौडेललाई प्रदान गरिने निणर्य गरिएको छ ।
त्यसैगरी बीडी त्यागी विशिष्ट सम्मान २०८१ वरिष्ठ साहित्यकार डा विदुर चालिसेलाई,एक सय एक रुपैया सिक्का रहेको थैली सहित बीडी त्यागी स्मृति पुरस्कार २०८१ वरिष्ठ साहित्यकार बियोगी बुढाथोकीलाई , बीडी त्यागी प्रतिभा सम्मान २०८१ साहित्यकार विसुकुमार केसीलाई र बीडी त्यागी योगदान सम्मान २०८१ गीतकार तथा महिला उद्यमी कमला श्री थापालाई प्रदान गरिने भएको संस्थाका निबन्ध आचार्यले जनाएका छन् ।
संस्थाको सल्लाहकार वरिष्ठ उपन्यासकार शङ्कर भारतीको संयोजकत्वमा गठित प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई बैठकले अनुमोदन गरेको हो । आगामी बैशाख १९ गते एक कार्यक्रम बीच ती सम्मानहरु अर्पण गरिने केन्द्रका महासचिवसमेत रहेका आचार्यले जानकारी दिएका छन् ।
साहित्यकार बीडी त्यागीको २०६० साल बैशाख १९ गते निधन भएको थियो । २०६१ सालदेखि उनको स्मृतिमा बीडी त्यागी स्मृति केन्द्रले सम्मान अर्पण गरिदै आएको छ ।