अमेरिकाका डेमोक्रयाटिक र रिपब्लिकन दलहरूले आफ्ना औपचारिक उम्मेदवारहरू मनोनयन गर्नका लागि अझै केही महिना बाँकी छ। तर आगामी निर्वाचनमा जो बाइडन र उनका पूर्ववर्ती डोनल्ड ट्रम्पबीचमा कडा टक्कर हुनसक्ने ठानिएको छ। र, एउटा मूल मुद्दा आप्रवासन बनेको छ जुन नोभेम्बर ५ को चुनावमा निर्णायक बन्न सक्छ। “यदि विदेश नीतिमा अरू कुनै ठूलो घटना भएनन् भने ह्वाइट हाउसमा को पुग्नेछ भन्नेबारे आप्रवासन नै निर्णायक मुद्दा बन्नेछ,” आप्रवासन तथा सङ्गठित अपराधमा विज्ञता हासिल गरेकी जर्ज मेशन विश्वविद्यालयकी प्राध्यापक ग्वाडालुपे कोरिया–काब्रेरा भन्छिन्।
“यद्यपि यो नयाँ होइन र सधैँ विभाजनकारी र सान्दर्भिक विषय हो। अहिले यसले अभूतपूर्व ढङ्गले, त्यो पनि भयको राजनीतिको भाष्यसहित लय समाइरहेको छ।” यसबारे जानकार दुवै सम्भावित उम्मेद्वारहरूले टेक्ससमा अवस्थित अमेरिका–मेक्सिको सीमा क्षेत्रको अघिल्लो साता भ्रमण गरेका हुन्। बाइडनले मतदाताहरूलाई आफू आप्रवासनबारे गम्भीर रहेको भन्दै मतदातालाई विश्वासमा लिन खोजिरहेका छन्।
ट्रम्पले आफ्नो राजनीतिक जीवनकै महत्त्वपूर्ण सवाल मान्ने गरेका उक्त विषयलाई फेरि प्रकाशमा ल्याउने अवसरका रूपमा त्यसलाई उपयोग गरेका छन्। “बाइडनले देशलाई नष्ट गरिरहेका छन् र हामीले यो विषयलाई ध्यान दिनेछौँ,” ईगल पासतर्फ जानुअघि ट्रम्पले सम्वाददाताहरूलाई भने।
उनले राष्ट्रपतिले अमेरिकाका विभिन्न सहरमा ‘आप्रवासन अपराध’को शृङ्खला निम्त्याएको पनि आरोप लगाए। त्यहाँबाट ३०० किलोमिटर टाढा ब्राउन्सभीलमा बोल्दै बाइडनले चाहिँ सांसदहरूलाई ‘गुटगत दलगत राजनीतिबाट अलग रहन’ अनुरोध गरे। उनले ट्रम्पलाई सीमा मुद्दामा आफूलाई साथ दिन भन्दै त्यसमाथि ‘राजनीति नगर्न’ अनुरोध गरे। “वास्तविकता के हो भने डोनल्ड ट्रम्प सीमालाई सुरक्षित बनाउन चाहँदैनन्। अराजकता र बर्बरता उनको रोजाइमा छ किनभने उनले त्यसलाई राजनीतिक दाउका रूपमा प्रयोग गरिरहेका छन्,” बाइडनकी चुनावी अभियान व्यवस्थापक जुली चाभेज रोड्रिगेजले भनिन्।
जनमत सर्वेक्षणहरूले यो विषयमा राष्ट्रपति बाइडनको अवस्था नाजुक रहेका देखाएका छन्। फेब्रुअरी महिनाको ग्यालपको सर्वेक्षणमा २८ प्रतिशत अमेरिकीहरूले आप्रवासनलाई आफ्नो प्रमुख चासो बताएका थिए। त्यो अर्थतन्त्र र महँगी भन्दा बढी प्राथमिकताको विषय बनेको थियो। एउटा ह्यारिस सर्वेक्षणले उक्त मुद्दामा बाइडनको ‘अप्रुभल रेटिङ‘ (उनको नीतिप्रति समर्थन) ३५ प्रतिशत रहेको पाएको थियो जुन कुनै पनि मुद्दामा उनले प्राप्त गरेको सर्वाधिक कम रेटिङ हो।
चुनावको एक वर्षअघि नोभेम्बरमा एबीसी न्यूज/आईपीएसओएसले गरेको सर्वेक्षणमा अमेरिकीहरूले आम रूपमा रिपब्लिकनहरूले आप्रवासनको मुद्दालाई राम्रोसँग सम्हाल्ने गरेको विश्वास गरेका थिए। मनमोथ सर्वेक्षणमा सहभागी करिब ६१ प्रतिशत अमेरिकीहरूले आप्रवासनलाई गम्भीर समस्या भनेका थिए। त्यसमा जबाफ दिनेमध्ये बहुसङ्ख्यकले पहिलो पटक आफूहरूले अमेरिकी मेक्सिको सीमामा पर्खाल बनाउने ट्रम्पको प्रस्तावलाई समर्थन गर्ने जनाएका थिए।
“एक महिनाअघि मैले आप्रवासन चुनावका लागि तीन महत्त्वपूर्ण विषयमध्ये रहेको बताएको थिएँ। अहिले त्यो खास मुद्दा हो भन्ने मलाई लाग्छ,” वासिङटन डिसीस्थित माइग्रेशन पोलिसी इन्स्टिच्युटका मुजाफर चिस्टीले बीबीसीसँग भने। “र, त्यसको कारण प्रस्ट छ: सीमामा सङ्कटको अवस्था छ,” उनले भने। यो बहसमा के छुटिरहेको छ? अमेरिकाले श्रमिक सङ्कट भोगिरहेको छ र त्यहाँ आप्रवासी कामदारको अभाव छ। तर युरोपमा जस्तै अमेरिकाको बहसमा विरलै यो कुरा उठ्ने गर्छ। यसैबीच ३० लाख मुद्दाहरू आप्रवासन अदालतमा विचाराधीन छन् र त्यसमध्ये १० लाख भन्दा बढी शरणको अपिल गरिसकेका मानिसहरूसँग जोडिन्छन्।बीबीसी