कास्की । सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्व. विकास अधिकारीको स्मृतिमा आयोजित विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप २०८० पोखरामा भोलि आइतबारदेखि औपचारिक खेल सुरु हुँदैछ ।
नेपाल पत्रकार महासंघ कास्कीको सभा हलमा आज शनिवार विकास शिल्ड आयोजक समितिद्धारा आयोजित पत्रकार सम्मेलनमा अपांगता भएका व्यक्तिहरु अन्य व्यक्तिहरु सरह खेल्न सक्छन् भन्ने कुराको अपनत्व गराउन भोली फागुन २० देखि २१ गतेसम्म दुई दिने विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको आयोजना गरिएको जानकारी दिएको हो ।
सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा पोखरा रंगशाला र पुन समाजको बास्केटबल कोर्टमा आइतवार हुने प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गर्ने भएका छन् । प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुष ९ टिम र महिला ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा १५ टिमको सहभागिता रहने आयोजकको भनाई छ ।
प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषतर्फबाट क्रमशः प्रथम, द्वीतीय र तृतिय हुने टोलीले क्रमश ५०, ४० र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगितामा उत्कृष्ट खेलाडी र (हाई स्कोरर)लाई नगद रु ५ हजारसहित ट्रफी प्रदान गरिनेछ । साथै, अन्य सहभागी टिमलाई सान्त्वना पुरस्कारसहित सहभागीताको प्रमाण पत्र प्रदान गरिने संयोजक अर्याले बताए । संस्थाले प्रतियोगितामा सहभागी हुने सबै खेलाडी तथा प्रशिक्षकलाई खान र बस्नको व्यवस्था गरेको छ । प्रतियोगितामा ७० लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको समापन भने गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम तयारीले मुख्य आयोजनास्थल पोखरा रंगशालाको बास्केटबल कोर्ट र पुन समाजको बास्केटबल कोर्ट पर्यटकीय सहर पोखरा खेलकुदमय बनेको हो । खेलाडी, खेलकुदकर्मीसहित विभिन्न पेसा व्यवसायीहरू उत्साहित बनेका छन् । प्रतियोगिताको अवलोकन भने निःशुल्क गर्न पाइने आयोजकले बताउको छ ।