

काठमाडौं । नेपालमा महिलाहरुको अधिकांश हत्या श्रीमान्को हातबाट भएको तथ्यांकले देखाएको छ। इन्सेकको मानवअधिकार वर्ष पुस्तक-२०२४ का अनुसार सन् २०२३ मा मात्रै १ सय ९ जना महिलाको श्रीमान्को हातबाट हत्या भएको छ।
सन् २०२३ मा जम्मा १८६ जना महिलाको हत्या भएको छ। त्यसमध्ये १०९ जनाको हत्या श्रीमान्कै हातबाट भएको हो।दाइजोका नाममा मात्रै ७ जना महिलाको हत्या भएको छ। दाइजोकै कारण यो वर्ष हिंसामा पर्ने महिलाको संख्या ४५ छ। शरीरमा आगो लगाएर ३ महिलाको हत्या गरिएको छ। धारिलो हतियारको प्रहार गरी हत्या गरिएका महिलाको संख्या ४३ जना छ।
घरेलु हिंसा, बलात्कार तथा बोक्सीको आरोपमा महिलामाथि हुने दुर्व्यवहारमा कमी आएको छैन। अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष महिला हिंसाको घटना झन् धेरै भएका वर्ष पुस्तकमा उल्लेख गरिएको छ। यो प्रहरीमा उजुरी परेका घटनाको तथ्यांक मात्रै हो। प्रहरी कार्यालयमै नपुगेका हिंसामा परेको महिलाको संख्या झन् डरलाग्दो रहेको महिला अधिकारका क्षेत्रमा काम गर्नेहरुको अनुभव छ।
हत्याका घटना पनि सबै हत्याकै रुपमा सार्वजनिक नहुने गरेको, कतिपय हत्यालाई पनि आत्महत्या तथा स्वाभाविक मृत्युको नाम दिएर छिपाएका घटना पनि प्रशस्तै रहेको दलित महिला संघकी संस्थापक अध्यक्ष दुर्गा सोब बताउँछिन्।
उनी भन्छिन्, ‘समाजमा जति हिंसाका घटना भइरहेका छन्, तीमध्ये आधा मात्रै प्रहरीसम्म पुग्छन्, मुद्दा बन्छन् र संख्यामा गणना हुन्छन्। बाँकी त केही घरबाहिरै आउँदैनन्, केही प्रहरीसम्म पुगे पनि पीडितलाई दबाएर मिलापत्र गराइन्छ। हत्याका घटना पनि धेरै छिपाइन्छन्।’
वरिष्ठ अधिवक्ता मीरा ढुंगाना घरभित्रको महिला हिंसाको दर कम भएको खण्डमा हत्याको दर आफै घटेर जाने बताउँछिन्। महिला हिंसा कम गर्न भएका कानुन प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनको तर्क छ। ‘महिलामाथि हुने हिंसा र अपराध घटेको छैन। यसको मुख्य कारण महिलाको आफ्नो घर नहुनु हो। श्रीमान्् वा परिवारको सदस्यविरुद्व उजुरी गरेपछि फर्किएर जाने फरक ठाउँ छैन।नेपालखबर