काठमाडौँ– वैदिक गुरुकुलमा अध्ययन गर्ने वटुक (छात्र) को व्रतबन्ध गरेको हुनुपर्छ। सन्ध्योपासनालगायतका निष्ठामा बसेको र कम्तीमा कक्षा पाँच उत्तीर्ण गरेका विद्यार्थी गुरुकुल प्रवेशका न्यूनतम मापदण्ड हुन्। अझ नेपालमा सञ्चालन भएका अधिकांश गुरुकुलमा ब्राह्मण समुदायका बालकहरूलाई मात्रै भर्ना लिइन्छ।
देवघाटमा सञ्चालित गार्गीकन्या गुरुकुल कन्याहरूका लागि सञ्चालन गरिएको हो। यहाँ बालिकाहरू अध्ययन गर्छन्। जुनसुकै जातीय समुदायका बालिकाहरू गुरुकुलमा भर्ना हुन पाउँछन्। अनि उनीहरूले निःशुल्क रूपमा आवासीय सुविधासहित पढ्न पाउँछन्। त्यसैले यसलाई समावेशी कन्या गुरुकुल नामकरण गरिएको छ।
गुरुकुल व्यवस्थित बनाउन गठित महायज्ञ आयोजक समितिका महासचिव रामप्रसाद वस्तीका अनुसार यो नेपालको पहिलो समावेशी गुरुकुल हो। उनले भने, ‘गुरुकुलमा भर्ना हुन यही जातीय समुदायको हुनुपर्छ भन्ने मापदण्ड छैन। कक्षा पाँच उत्तीर्ण हुनुपर्छ। कक्षा ६ देखि १२ कक्षासम्म पढाइ हुन्छ।’ सबै कुरा निःशुल्क भएकाले देशका जुनसुकै ठाउँ बालिका पनि भर्ना भएर पढ्न पाउने वस्तीले बताए।
गुरुकुलमा बिहान पाँच बजेदेखि राति ९ बजेसम्म छात्राहरू व्यस्त हुन्छन्– नित्यकर्म, पढाइ, अतिरिक्त क्रियाकलाप, योग, खेलकुद, गृहकार्य आदि। छात्राहरू बिहान सबैरै उठ्छन्। स्नानादि नित्यकर्म सकेर चिटिक्क पर्छन्। अनि उनीहरू प्रातःकालीन स्वस्तिवाचनमा तल्लीन रहन्छन्। उनीहरूले वाचन गरेको स्वस्तिवाचन सुन्दा एक प्रकारको ऊर्जा प्राप्त हुने गुरुकुलका शिक्षककर्मचारी बताउँछन्।
सात बज्दा छात्राहरू गुरुकुलीय पहिरनमा पंक्तिबद्ध भएर सरस्वती वन्दनामा सहभागी हुन्छन्। सात्विक भोजन गर्छन्। गीता पाठ गरेर मात्रै भोजन गर्ने कन्याहरू खाने कामलाई पनि एउटा यज्ञका रूपमा लिन्छन्।
कक्षामा उनीहरू वेद, गीता, ज्योतिषशास्त्र मात्रै पढ्दैनन् आधुनिक विषय पनि पढ्न पाउँछन्। नेपाल सरकारले तोकेको पाठ्यक्रम पढाइ हुन्छ। यसका अतिरिक्त संगीत सिक्छन्। योग अभ्यासमा सहभागी हुन्छन्। कम्प्युटर प्रशिक्षण र सिलाइ बुनाइमा सहभागी हुन्छन्। दुनाटपरी गाँस्ने, बात्ती कात्नेजस्ता काम पनि पढ्दापढ्दै सिक्छन्। छात्राहरूलाई खेलकुदका लागि साँझ ४५ मिनेट छुट्ट्याइएको वस्तीले बताए।
कन्या गुरुकुल किन त? वस्ती भन्छन्, ‘कन्या समाजका संवाहक हुन्। वैदिक सनातन संस्कृतिको संवर्द्धनमा उनीहरूको प्रमुख भूमिका हुन्छ।’ उनले प्राचीनकालमा गुरुकुलीय पद्धतिमा अध्ययन गरेका नारीहरू समाज परिवर्तनका संवाहक रहेको उदाहरण पनि दिए।
वस्तीले भने,‘वैदिक सनातन संस्कृतिलाई कन्यालाई शक्तिका रूपमा लिइन्छ। कन्यालाई देवीका रूपमा पूजा गर्छौँ। प्राचीन कालमा कन्याहरू गुरुकुलमा पढेर विदुषी बन्थे। अबका नारीलाई गुरुकुलबाटै समाज परिवर्तनका संवाहक बनाउनुपर्छ।’
समाजसेवी भगवती उपाध्यायद्वारा २०५२ सालमा स्थापना गरिएको रामजानकी वेद विद्याश्रम र अर्की समाजसेवी अंगुरबाबा जोशीको सदिच्छामा २०६७ सालमा काठमाडौँमा सञ्चालित गार्गी कन्या गुरुकुलकै संयुक्त रूपान्तरण हो, गार्गी कन्या गुरुकुल।
२०७५ सालदेखि सञ्चालनमा रहेको यस गुरुकुलमा ४४ जिल्लाका विभिन्न जात र वर्गका ८० जना छात्रा अध्ययनरत रहेको वस्ती बताए। हाल कक्षा ६ देखि ११ सम्म औपचारिक कक्षा सञ्चालन भइरहेको छ। हिमालप्रेस