- जीआर रञ्जित
भक्तपुर वडा नं ७ मा अवस्थित एक टोलको नाम चोर्चा हो । यस टोलको मुख्य देवता चोर्चा गणेश (सिद्धि गणेश) हो । चोर्चा शब्द नेपाल भाषाका शब्द “च्व:धचा” बाट बनेको भन्ने जनश्रूति रहेको छ । “च्व:धचा” शब्द ‘च्व’ र ‘धचा’ दुई शब्दहरू मिलेर बनेको हो । ‘च्व’ भन्नाले पुच्छर हो भने ‘धचा’ भन्नाले खोल्सा हो । यसरी पुच्छरले बनाएको खोल्साबाटै यस टोलको नाम च्व:धचा हुन्दै हाल उक्त शब्द अपभ्रंस भै चोर्चा रहन गएको हो ।
कसको पुच्छरबाट यस टोलमा खोल्सा बन्यो भन्ने प्रश्नमा एक जनश्रुति रहेको छ । याछें, थालाछें र चोर्चाको संगमस्थलबाट कुनै एक समयमा एक विशाल नाग तलतिर सरेको बेला त्यसको च्व: अर्थात् पुच्छरले ध:चा अर्थात् खोल्सो बनाउँदै सिध्दि गणेश द्य:छें पछाडिको बाटो हुँदै गएर हालको झर्तिलामा पुगेर त्यहाँबाट उक्त नागले प्रस्थान गरे भन्ने जनविश्वास रहेको छ ।
पछि यस खोल्सा नै ‘मला’को निमित्त प्रयोग हुँदै आएको थियो। हाल यस स्थानमा हिम पाइप राखेर खोल्सा बन्द गरिएको छ भने परापूर्वकालमा यस स्थानमा एक खोला बग्थ्यो भन्ने जनश्रुति पनि रहेको छ । जस्को नाम पिया खोला भन्ने गरिन्छ । यो कथन विशेषगरी लाकोलहरू जो पहिलेका यस क्षेत्रका बासिन्दाहरू हाल चिसंखु तिर बसाइँसराइ गर्नु भएकाहरूको हो ।