कैलालीको घोडाघोडी र नकरोड तालमा जलपन्छी बढे पनि यसवर्ष सुदूरपश्चिमको तराई क्षेत्रमा रहेको प्रायः तालतलैयामा जलपन्छीको सङ्ख्या घटेको छ । पछिल्लो पटक गरिएको वार्षिक गणनाको क्रममा घोडाघोडी र नकरोड तालबाहेक अरुतिर जलपन्छी घटेको पाइएको हो । नेपालको पहिलो चरा आरक्ष घोडाघोडी चरा अभय आरण्य क्षेत्रसमेत रहेको घोडाघोडी तालमा ९०२ वटा जलपन्छी यसवर्ष अभिलेख गरिएको छ ।
गतवर्ष यो तालमा हिउँदमा ८५५ जलपन्छी भेटिएका थिए । यसैगरी, नकरोड तालमा ५३५ जलपन्छी फेला परेका छन् । गतवर्ष यो तालमा ३०० जलपन्छी रहेको अभिलेख गरिएको थियो । यद्यपि कैलालीकै अरूतिर भने जलपन्छी घटेको पाइएको छ । कणर्ाली नदीको तल्लो तटीय क्षेत्र र डल्फिन संरक्षण क्षेत्रको मोहना जलपन्छी घटेका छन् । दुवै नदीमा यसवर्ष क्रमशः ५५४ र ४२० जलपन्छी अभिलेख गरिएको छ । गतवर्ष क्रमशः ६०० र ५०० को हाराहारीमा जलपन्छी गणना भएका थिए । वसन्ता कोरिडोरमा रहेको रखौना, जम्नेह्टा, सोनियाँ रुपियाँलगायतका तालमा पानी नै सुकाइएका कारण यसवर्ष जनपन्छीको गणना हुन सकेको छैन ।
यस वर्ष कैलालीमा जम्मा तीन हजार ५२६ जलपन्छी अभिलेख गरिएको छ । गतवर्ष चार हजारको हाराहारीमा जलपन्छी भेटिएका थिए । यसैगरी, कञ्चनपुरमा यसवर्ष धेरै कम जलपन्छी भेटिएका छन् । सिकारी ताल, रानी ताल, बाबा ताल, बन्दा, पुरैनी सबै तालमा कम जलपन्छी भेटिएको जनाइएको छ । गतवर्ष एक हजार ३०० सिलसिले हाँस अभिलेख भएको बन्दा तालमा यसवर्ष जम्मा छ वटा सो प्रजातिका चरा देखा परेका छन् । तर, पुरैनी तालमा प्रजाति सङ्ख्या थप हुनुका साथै यसवर्ष कलहाँसको सङ्ख्यामा बढोत्तरी भएको देखिएको छ ।
सो तालमा गतवर्ष ९३ कलहाँस अभिलेख भएका थिए । यसवर्ष ११७ वटा कलहाँस देखिएका छन् । यस्तै, कालीकिच तालमा ६५ वटा नकटा चरा देखिएका छन् । यसैगरी कणर्ाली नदीको तल्लो तटीय क्षेत्रमा १३२ वटा कलहाँस र २४ वटा लक्ष्मण सारस रेकर्ड गरिएको छ । यी प्रजातिको सङ्ख्या यहाँ हालसम्मकै बढी हो । कैलाली, कञ्चनपुरमा कैलेटाउके हाँस, सारस, नकटालगायतका दुर्लभ जलपन्छी पाइनेगरेका छन् ।
पानीमा बस्ने चराको अवस्था, प्रजाति, सङ्ख्या पत्ता लगाउन हरेक वर्ष जनवरीमा दुई हप्तासम्म हिउँदे आगन्तुकसहित रैथाने जनपन्छीको गणना गरिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्क्षी संरक्षण सङ्घ, हिमाली प्रकृति, राष्ट्रिय प्रकृति संरक्षण कोष र स्थानीय संरक्षण साझेदार संस्थाहरू मिलेर तालतलैया, नदी, घोल लगायतमा पन्छी गणना गर्ने गर्दछन् ।
समग्रमा हेर्दा जनपन्छीको सङ्ख्या घटेको पाइएको गणनामा संलग्न चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँका अनुसार हिउँदे आगन्तुक मात्र हैन, रैथाने जलपन्छी पनि कम पाइएका छन् । सिमसार दोहन, प्राकृतिक वासस्थानको विनाश, तालतलैयामा मोटरबोट सञ्चालन लगायतका कारणले जलपन्छी घटिरहेको बताइएको छ ।