विश्व इतिहासमा पहिलो विश्वयुद्धपछि मात्र राहदानीको प्रचलन भएको मानिन्छ । त्यो बेला एकबाट अर्को देशमा आउन जान धातुका राहदानी जारी भएको पाइएको परराष्ट्रविद् डा. मदनकुमार भट्टराई सुनाउँछन् । औपचारिक प्रचलन भने सन् १९२० ताका लिग अफ नेसन्सको सम्मेलनको एक बैठकमा मुद्दा उठेपछि मात्र कागजमा अक्षर कुँदेका राहदानी प्रचलनमा आएको दाबी उनले गरे ।
नेपालसँग बेलायतको कुटनीतिक सम्बन्ध सन् १८१६ मा स्थापना भएको हो । नेपाल बेलायतसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने दक्षिण एसियामै पहिलो मानिन्छ । नेपालले सन् १९३४ देखि लन्डनमा दूतावास समेत स्थापना गरेको छ । त्यहीपछि राहदानीको सुरुवात भएको मानिन्छ । सोही आसपासमै नेपालले राहदानी जारी गर्ने औपचारिक प्रक्रिया सुरु गरेका मानिन्छ ।
उनले भने, ‘नेपालको पुरानो राहदानी असाध्यै वैज्ञानिक थियो, अहिलेभन्दा आकारमा अलिक ठूलो पनि थियो ।’ त्यसको भित्र मोडिएको सिङ्गो नेपाली कागज हुन्थ्यो । त्यो पानालाई मोडेर पहिलो पानामा व्यक्तिगत विवरण राखिन्थ्यो । अन्य पानामा भिसा लगाउने व्यवस्था गरिएको हुन्थ्यो । महिलाको नाममा छुट्टै राहदानी जारी हुने व्यवस्था थिएन ।
विसं २०२९ मा भेटिएको एक प्रमाण अनुसार सो राहदानीले कुन कुन देशमा यात्रा गर्न सकिने ? भन्ने उल्लेख गरिएको थियो । भारत, बर्मा, थाइल्याण्ड, मलेसिया, सिंगापुर, हङकङ, जापान, फिलिपिन्स, पाकिस्तान र बाटोमा रहेका अरू देशहरूमा जान सक्ने उल्लेख छ ।
२०२७ सालसम्ममा नेपालमा जम्मा एक हजार जनाले मात्र पासपोर्ट लिएको सो बेलाको नम्बरले जनाएको छ । २०२७ सालको यस पासपोर्टको संख्या १०५७ लेखिएको छ भने जान पाउने जम्मा दश देशको नाम किटानीका साथ लेखिएको छ। जसमा भारतको पनि छ । सो अनि पासपोर्टको अवधि पनि लगभग १८ महिनाको मात्र तोकिएको छ ।