काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिकामा पर्ने साँखु क्षेत्र एक ऐतिहासिक महत्वका ढोकाहरू हुन् । यो कुनै समय छुट्टै राज्य वा भक्तपुरको शासन क्षेत्रभित्र पर्दथ्यो । वंशालीमा उल्लेख भएअनुसार कलिगत सम्बत १८०१ तिर बज्रयोगिनीको आज्ञाअनुसार जोगदेव बज्राचार्यको तत्वाधानमा काठमाडौँ जिल्लाको उत्तरी भेगमा दाहिने शंख आकारको साँखु देश स्थापना भएको थियो ।
साँखु देशलाई बोलचालीमा साको पनि भन्ने गरिन्छ भने हाल यसको नाम शंखरापुर रहेको छ । मल्लकालमा साँखु देशलाई सुरक्षा गर्ने उद्देश्यले नगरको चारै तिर पर्खाल लगाएका थिए भने नगर प्रवेश गर्न प्रमुख स्थानमा ध्वाका (द्वार) हरुको निर्माण गरेका थिए । यी ध्वाकाहरुमा १. भौ ध्वाका २. द्य: ध्वाका ३. म्ह्यायमचा ध्वाका ४. सि ध्वाका हुन् ।
१. भौ ध्वाका: साँखु नगरभित्रका कुनै दुलहाले विवाह गर्दा दुलही भित्र्याउने समय यस ध्वाकाबाट दुलही भित्र्याउनुपर्ने अनिवार्यता थियो । यसरी दुलही भित्र्याउने भएरै यस ध्वाकाको नाम भौ ध्वाका रहन गएको हो ।
२. द्य: ध्वाका: यो ध्वाकाबाट देवतालाई भित्र्याउने गर्छ । देव कार्यमा प्रयोग गर्ने भएकै कारण यस ध्वाकाको नाम द्य: ध्वाका रहन गएको हो ।
३. म्ह्यायमचा ध्वाका: चेलीहरू दिएर पठाउने बेला बिदा गरिने ध्वाकालाई म्ह्यायमचा ध्वाका भनिन्छ ।
४. सि ध्वाका: नगरबासीको स्वर्गारोहण भएको खण्डमा मलामी लग्ने ध्वाकालाई सि ध्वाका भनिन्छ ।