केही विद्यार्थीले अमेरिकामाबाट सुरु गरेको एउटा परियोजना आज विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल बनेको छ। यद्यपि यसको उद्देश्य भने फेरिएको छैन। यसको उद्देश्य आज पनि मानिसहरूलाई इन्टरनेटको माध्यमबाट नजिक बनाउनु र विज्ञापनबाट आयआर्जन गर्नु हो। फेसबुक २० वर्ष पुग्दै गर्दा यसले संसारलाई कसरी फेरिदिएको छ त्यसबारे यहाँ चर्चा गरिएको छ।
फेसबुकभन्दा अगाडि माईस्पेसजस्ता अरू सामाजिक सञ्जाल पनि थिए। तर सन् २००४ मा सुरु भएको मार्क जकर्बर्गको यो वेबसाइट तत्काल लोकप्रिय बन्यो। त्यसले यस किसिमको वेबसाइट कति चाँडो प्रभावशाली बन्न सक्छ भने देखायो।स्थापनाको एक वर्ष नपुग्दै फेसबुकका प्रयोगकर्ता १० लाख पुगे। तस्बिरमा आफ्ना साथीहरूलाई “ट्याग“ गर्ने, परिवर्तन वा “रिफ्रेश“ भइरहने “फीड“ जस्ता नयाँनयाँ सुविधा दिँदै चार वर्षभित्र यसले प्रतिस्पर्धी माईस्पेसलाई उछिन्यो।
सन् २०१२ सम्ममा एकअर्ब मानिसले मासिक रूपमा फेसबुक प्रयोग गरेका थिए। सन् २०२१ मा दैनिक सक्रिय प्रयोगकर्ता पहिलो पटक एक अर्ब ९२ करोडमा झरेको बेलाबाहेक प्रयोगकर्ताको सङ्ख्या निरन्तर बढिरहेको छ।डिजिटल आबद्धता कम भएका मुलुकहरूमा सेवा विस्तार तथा निःशुल्क इन्टरनेटजस्ता सुविधा प्रदान गरी फेसबुक आफ्ना प्रयोगकर्ताको सङ्ख्या वृद्धि गर्न सफल भएको छ।
सन् २०२३ को अन्त्यमा फेसबुकले आफूसँग दुई अर्बभन्दा बढी दैनिक प्रयोगकर्ता रहेको जानकारी दिएको थियो।हुन त फेसबुक युवाहरूमाझ पहिलाको जति लोकप्रिय छैन। यद्यपि यो संसारको सर्वाधिक रुचाइएको सामाजिक सञ्जालको रूपमा कायमै छ र यसले संसारलाई अनलाइन सामाजिक गतिविधिको एउटा नयाँ युगमा प्रवेश गराएको छ।
कसैले फेसबुक र योजस्ता कम्पनीलाई पारस्परिक सम्पर्क र सम्बन्ध बढाउने सशक्त माध्यम मानेका छन् भने कसैले हानिकारक कुलत पनि ठानेका छन्। फेसबुकले हाम्रो रुचि र अरुचिबारे जानकारी राखेर पैसा कमाउन सकिन्छ भन्ने देखायो।
अहिले फेसबुकको माउकम्पनी मेटा विज्ञापन क्षेत्रको एउटा ठूलो खेलाडी हो। त्यसले विश्वव्यापी विज्ञापन बजारको ठूलो भाग ओगटेको छ।सन् २०२३ को तेस्रो त्रैमासिकमा मेटाले ३४ अर्ब अमेरिकी डलर कमाएको देखिन्छ। त्यसमध्ये ११ अर्ब ५० करोड अमेरिकी डलर नाफा भएको कम्पनीले घोषणा गरेको थियो।
तर डेटा सङ्कलन कहाँ आपत्तिजनक हुन्छ भन्ने कुरा फेसबुकसँग जोडिएका घटनाहरूले देखाएका छन्। मेटाले व्यक्तिगत विवरण दुरुपयोग गरेको आरोपमा थुप्रै पटक जरिबाना तिर्नुपरेको छ।