राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति २९ प्रतिशत मात्र रहेको छ । आयोजनाको एकाधबाहेकका स्थानमा निर्माणमा अवरोध नरहे पनि हालसम्मको प्रगति तुलनात्मक रूपमा सुस्त देखिएको छ ।
नेपाल सरकारबाट छ वर्षअघि नेपाली सेनाले निर्माणको जिम्मा पाएको यस आयोजनाको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनासम्मको समष्टिगत भौतिक प्रगति २९.६२ प्रतिशत रहेको छ । गत पुस महिनासम्मको प्रगति विवरण सार्वजनिक गर्दै आयोजनाले समष्टिगत वित्तीय प्रगति मोबिलाइजेसनसहित ३०.४५ प्रतिशत रहेको जनाएको छ । नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले आयोजना अन्तर्गत ठेक्का लागेका प्याकेजमा तीव्र गतिमा काम भइरहेको जानकारी दिए । उनका अनुसार आयोजनाको निर्माण प्याकेजमध्ये १, २, ३, ४, ५, ६ र ७ निर्माणाधीन छ ।
सिस्नेरी तथा मख्खुबेँसी खण्ड अन्तर्गत पर्ने प्याकेज नं. ८ (क) र ९ (क) को बोलपत्र खोली मूल्याङ्कन प्रक्रियामा रहेको छ । मख्खुबेँसी खण्डमै पर्ने प्याकेज नं. ८ (ख) को पुनः बोलपत्र आह्वान भई यही माघ ३ गते बोलपत्रको प्राविधिक प्रस्ताव खोलिएको छ ।यसै गरी महादेवटार खण्डमा पर्ने प्याकेज नं. १० को गत पुस २० गते सिआरइजिसी-सिओभिइसी जेभीसँग आयोजनाले सम्झौता गरेको छ ।
प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना खण्डमा द्रुतमार्गको सुरु बिन्दुमा विस्तृत सम्भाव्यता अध्ययनका लागि पुल्चोक क्याम्पसको रिसर्च एन्ड ट्रेनिङ युनिटसँग सम्झौता भई काम भइरहेको आयोजनाको भनाइ छ । आयोजनाको पछिल्लो विस्तृत परियोजना प्रस्ताव अनुसार छ वटा सुरुङमार्ग निर्माण हुने र सुरुङमार्गको कुल लम्बाइ १०.०५५ हुने भएको छ ।
आयोजना अन्तर्गत ८९ वटा पुल निर्माण हुनेमा प्याकेज नं. १ देखि ७ सम्मका ६२ वटा पुल निर्माणाधीन र हालसम्म पाँच वटा पुलको निर्माण सम्पन्न भएको छ । सूचना अधिकारी भण्डारीका अनुसार द्रुतमार्गको विभिन्न खण्डमा सब बेस, ढल, टेवा पर्खाललगायतको संरचना निर्माणको काम भइरहेको छ । काठमाडौँदेखि बाराको निजगढसम्म ७२.५ किमी द्रुतमार्ग चार वर्षभित्र निर्माण सम्पन्न गर्न सरकारले २०७४ साल साउन महिनामा सेनालाई दिइएको थियो ।