काठमाडौं । पूर्व युवराज पारस राम्रा विषयमा समाचार बनेको सुन्न पाइदैन । उनको इतिहासनै नराम्रो विषयको समाचारमै केन्द्रित छ । यसैबीच चितवनमा पारसले विद्यार्थी बोकेको सनराइज स्कूलको बसका चालकमाथि पेस्तोल तेर्साएको घटना चर्चामा आएको छ । आमा पूर्व रानी कोमलको ७३ औं जन्मोत्सव मनाउन चितवन पुग्ने क्रममा पूर्व युवराज पारसले विद्यार्थी बोकेको बसका चालकमाथि पेस्तोल तेर्साएको घटनाले यतिखेर सामाजिक सञ्जाल भरिएको छ ।
सदाझैँ तीव्र गतिमा कार हाँकिरहेका पारस बसले बाटो नछाडेको निहुँले बिच्किएको स्थानीय बताउँछन् । बसले बाटो नछाडेपछि उनले ड्राइभरलाइ पेस्तोल देखाएको स्थानीयको आरोप छ । उक्त डरलाग्दो घटनालाई हालसम्म गुपचुप राखिएको भन्दै विद्यालय पूर्व विद्यार्थी मञ्चका अध्यक्ष तथा अभिभावक एवम् क्रिकेट संघ नेपालका प्रशिक्षक अनिल अधिकारीले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।
घटन गत साताको हो । घटना अनुसार गत साता चितवनमा विद्यार्थीलाई घरतर्फ छाड्न गइरहेको बसका चालकमाथि पेस्तोल तेर्स्याइएको थियो । पेस्तोल देखाउँदै पारसले तथानाम गालीगलौज गरेका थिए । तीब्र गतिमा आएको कारलाई विद्यार्थी बोकेको बसले तुरुन्तै बाटो नछाडेपछि उक्त कारबाट उत्रिएका व्यक्तिले ड्राइभरसँग भनाभन गरेका थिए । लगत्तै कम्मरबाट निकालेर पेस्तोल ताकेको बताइन्छ ।
पारसले विद्यार्थी बोकेको बसका चालकलाई पेस्तोल तेर्साएको सम्बन्धमा चितवन प्रहरीका पनि सामाजिक सञ्जालबाट मात्रै थाहा पाएको बताएको छ ।