

भरतपुर । राजा महेन्द्रले अन्तिम सास लिएको भरतपुरस्थित शीतकालीन दरबार अर्थात् दियालो बंगला अब आमनागरिकका लागि पनि खुला गरिंदै छ। भरतपुरबाट काठमाडौं र देवघाटधाम जाने मुख्य मार्गको आडैमा छ, दियालो बंगला। राजपरिवारका सदस्यका लागि खास रहँदै आएको यो बंगला राजा महेन्द्रले २०२६ सालमा बनाउन लगाएका थिए।
राजा महेन्द्रले करीब दुई वर्ष बंगलाको प्रयोग गरे। विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ। शिकारका शौखीन राजा महेन्द्र तराईमा शिकार खेल्न जाँदा दियालोमै बस्थे। उनको २०२८ माघ १७ मा दियालो बंगलामै निधन भएको थियो।
त्यसपछि वीरेन्द्र र ज्ञानेन्द्र राजा भए। दुवै राजाले पनि दियालो बंगलाको प्रयोग गरेका थिए। पछिल्लो पटक २०६१ असोजमा तत्कालीन राजा ज्ञानेन्द्र दियालो बंगला आएका थिए। त्यसयता दियालो बंगला बन्द छ। राजपरिवारका सदस्यको आवतजावत त रोकियो नै, सरकारले पनि वास्ता गरेन। आमनागरिकका लागि त पहिल्यैदेखि निषेध नै थियो।
अब भने सर्वसाधारणले पनि प्रवेश पाउने भएका छन्। भरतपुर महानगरपालिकाले त्यसको तयारी थालेको छ। ‘भरतपुर भ्रमण वर्ष २०२४’ का क्रममा दियालो बंगला खुला गर्न लागिएको मेयर रेनु दाहालले बताइन्। नेपाल ट्रस्टको स्वामित्वमा रहेको शीतकालीन दरबार भरतपुर महानगरको समन्वयमा खुला गर्न लागिएको हो।
भरतपुर महानगरपालिका-१, आँपटारी छेवैमा निकै भव्य र व्यवस्थित तवरले निर्माण गरिएको दियालो बंगला आमनागरिकले देख्न पाएका छैनन्। राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीं बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ। दियालो बंगला क्षेत्र ५२ बिघाको छ। बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारि थप पाँच बिघा जमीन छ। नेपाल ट्रस्टले व्यवस्थापन गर्दै आएको बंगलाको सुरक्षा नेपाली सेनाले गर्छ।
बंगलाको हेरचाहका लागि हाल चार जना कर्मचारी खटाइएका छन्। यसअघि १५ जनासम्म कार्यरत रहे पनि सेवानिवृत्त हुँदै जाँदा घटेर चार जना रहेको दानबहादुर ढकाल बताउँछन्। उनी २६ वर्षदेखि हेरचाहमा खटिंदै आएका छन्। ढकालसँगै देवीबहादुर कार्की, सीताराम धामी र रामकुमार पोडे कार्यरत छन्। चारै जना बगैंचे हुन्। हिमालखबर