काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्घन केन्द्र अन्तर्गत जर्मन सरकार, के. एफ. डब्लु. को आर्थिक सहयोगमा सञ्चालित डि.के.टि.आई. सोलार आयोजनाले सिद्धार्थ उद्योग वाणिज्य सङ्घको सहकार्यमा उद्योग व्यवसायीहरूसँग भैरहवामा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाका अध्यक्ष श्री ठाकुर कुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा केन्द्रका निर्देशक श्री डा. नारायण प्रसाद अधिकारीले नेपालमा वैकल्पिक ऊर्जाको दायरा र औचित्यबारे धारणा राख्दै केन्द्रका विभिन्न कार्यक्रमहरुको बारेमा छोटो जानकारी दिएका थिए ।
उनले सोलार रुफटफ कार्यक्रम सफल पार्नका लागि समेत उद्योग तथा व्यवसायीहरूसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । कार्वन उत्सर्जनमा कमी ल्याउन पनि नवीकरणीय ऊर्जाको क्षेत्रमा विषेश जोड दिनुपर्ने आवश्यकता रहेको बताएका थिए ।
कार्यक्रममा आयोजना प्रोजेक्ट म्यानेजर ईन्जिनियर सन्तोष राईले उक्त आयोजनाको सक्षिंप्त जानकारीका साथ सोलार रुफटफ कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । उनले नवीकरणीय ऊर्जा नीतिमा रहेको प्रावधान र सोलार रुफटफ जडान गर्नको लागि कुनै उद्योग व्यवसायी आफैँले वा ईनर्जी सर्भिस कम्पनीले ऋण लिएमा उक्त ऋण रकमको व्याजदरमा पचास प्रतिशत सम्म अनुदान ५ वर्षसम्म दिईने कुराको जानकारी दिएका थिए । छलफलको क्रममा ट्रयाक्टेबेल ईन्जिनियरीङ्ग (पि.आई.सी.) को तर्फबाट डिपुटी टिम लिडर ईन्जिनियर श्री खेम राज भण्डारीले सोलार रुफटफको प्राविधिक र आर्थिक पक्षबारे जानकारी दिएका थिए । कार्यक्रममा उद्योग व्यवसायीहरुले छलफल तथा अन्तर्क्रियामा प्रश्नोत्तर गरेका थिए ।
कार्यक्रममा विवेक कान्त न्यौपानेले कुनै पनि विकासको परियोजनाहरूमा वातावरणीय पक्षले त्यसको दिगोपनमा सहयोग ल्याउने र प्रक्रियाहरुमा सहजीकरण गरीने बताएका थिए । सोलार रुफटफका आवेदन प्रक्रिया, फाराम र अन्य महत्वपूणर् जानकारी आयोजनाका रुफटफ संयोजक श्री निरज सापकोटाले दिएका थिए । कार्यक्रमको अध्यक्षता गरेका श्री ठाकुरकुमार श्रेष्ठले यस प्रकारको जानकारीमूलक कार्यक्रम सञ्चालनले सोलार रुफटफको प्रवर्धन सहज हुन सक्ने भन्दै नेट मिटरीङ्ग र अन्य समस्याहरुको सहजीकरणको लागि समेत केन्द्र र विद्युत प्राधिकरण बिच समन्वयको अभाव देखिएको प्रष्ट पारेका थिए ।