-
केशव पाठक/धर्म-संस्कृति-इतिहास
काठमाडौं । सनातन संस्कृति, आर्य सभ्यता र हिन्दू दर्शनमा पशुपतिनाथको प्रत्यक्ष महत्व एवम् प्रभाव रहेको छ । पशुपतिनाथलाई शिवरूपमा पूज्ने, आत्मा रुपमा चिन्तन गर्ने, ईश्वर संझेर उपासना गर्ने परम्परा आदिमकालदेखि थियो । भनिन्छ, पशुपतिनाथलाई वैदिकालदेखि साकार निराकार दुवैरूपमा चिन्तन गरिन्थ्यो । अथर्बवेद तथा शुक्ल यजुर्वेदका बिभिन्न मन्त्रहरूबाट यो कुरा पुष्टि हुन्छ । त्यसैगरी शिवपुराण रुद्रसंहितामा पशुपतिनाथिका बारेमा उल्लेख छ । । देवीदेवता र ऋषिमुनिहरुसमेतले दर्शन तथा साधना गरेका हुँदा आदिम कालदेखि पशुपति शिवस्वरुप रहेको कथाहरू प्रशस्त छन् । भारतवर्षका १२ ज्योतिर्लिङ्गमध्ये मूलआधारका रूपमा नेपालमा रहेको पशुतिनाथ नै महाज्योर्तिलिङ्ग अर्थात् पूणर्ज्योर्तिलिङ्ग मानिन्छ ।
केही धार्मिक कथाहरू ब्रह्मा, विष्णु र इन्द्रद्वारा पशुपतिको मूर्ति स्थापना गरेका वणर्न पढ्न पाइन्छ । त्रेतायुगमा दशरथ तथा भगवान् राम पशुपति दर्शन गर्न आएको चर्चा पनि कथाहरुमा भेटिन्छ । त्यसैगरी महाभारतको वनपर्वमा अर्जुन पाशुपतक्षेत्रमा आएका थिए । यस हिसाबले हेर्दा अर्जुन आजभन्दा करिब पाँच हजार वर्ष पहिले पशुपतिमा आएको मान्न सकिन्छ ।
पशुपतिको ज्योतिर्लिड्गका बारेमा पशुपतिपुराण, हिमवत्खण्ड, विभिन्न वंशावलीहरूमा लेखिएको भए पनि पशुपतिनाथ उत्पत्तिका बारे तथा यसको तिथि मितिका बारे भने केही अन्यौल नै छ । पशुपतिनाथको मूर्ति निर्माणका सम्बन्ध आधिकारिक खोज गर्न वैदिक शास्त्र, तन्त्रशास्त्र, इतिहास, विभिन्न वंशावली, स्थानीय आख्यान, पुरातत्वदेखि किंबदन्ति आदिको सहयोग लिन आवश्यक छ । मन्दिर निर्माण गोपालकालदेखि हुँदै आए पनि पशुपतिनाथको उपासना, पूजन, चिन्तन वैदिककालदेखि हुने कुरा वेद पुराणमा भएका कथ्यबाट बुझ्न सकिन्छ । यद्यपि अनुसन्धानकर्ता एवं धर्मावलम्बीले यस विषयको महत्वलाइ उत्कटताका साथ नलिनु, पुराणहरूले युगको वणर्न गरी मिति नतोक्नुजस्ता कारणले पशुपति उत्पत्तिको निश्चित तिथि, मिति भनिहाल्न सक्ने अबस्था छैन ।
गोपालवंशीको समय गाई पालन गरेर जीविकोपार्जन गर्ने गोपालहरुले गाईका लागि पोषक घाँस उत्पादन गरिने धर्ती भित्रको काल्पनिक देवतालाई पूजा गर्ने गर्थे । काठमाडौँ उपत्यकाभित्र जमिन मुनि खाल्डोमा रहेको एक प्रस्तरलाई पूजा गर्ने गर्दथे । यसरी पूजा गरिने प्रस्तर पार्थिव शिलामा एउटा गाइले दैनिक दुध चढाउन गरेको कथा पाइन्छ । यो प्रशङ्गसँग काठमाडौँ उपत्यकामा आज पनि कतिपय नेवार समुदायमा पाहचन्हेका दिन यसरी खाल्डोमा पुजा गर्ने प्रचलनलाइ जोड्न पनि सकिन्छ ।
यसरी पशुको रक्षकका रुपमा रहेको देवताको पूजा गर्ने परम्परा गोपालहरुले शुरु गरेका थिए । गोपाल बंशावलीमा पशुपतिको उत्पतिको कथामा बहुह्री नाम गरेको गाईले सँधै बागमती किनारमा दुध चढाउने गरेपछि ग्वालाहरूले खनेर हेर्दा त्यहाँ पशुपतिको ज्योतिर्लिङ्ग उत्पति भएको कथा लेखिएको छ । साथै सो बहुह्री गाईका मालिक रहेका भुक्तमान ग्वालालाई ने मूनीले गोपालवंशको पहिलो राजा बनाइदिएको कुरा पाइन्छ ।
सातौँ शताव्दीतिर लिच्छवीकालमा नेपाल खाल्डोमा अंशुवर्मा प्रमुख शासक थिए । उनी पूणर् शिवभक्त थिए । नेपालमा शिवभक्तिको कथा पनि सातौँ शताव्दी वा अंशुवर्मा कालबाटै शुरु भएको पनि मानिन्छ । अंशुवर्माले गोपाल बंशको पालादेखि जमिन भित्र खाल्डोमा पूजा गर्ने पार्थिव शिलालाई नै पशुपतिका रुपमा पूजा गरेको भन्न सकिन्छ ।
तेह्रौँ शताव्दीमा बंगालका सुल्तान समसुद्दिन इल्यासको उपत्यका आक्रमणको समयमा यहाँ धेरै मठमन्दिर तथा महत्वपूर्ण हिन्दूस्थलहरु तोडफोड गर्ने क्रममा अंशुवर्माले जमिनबाट निकालेर स्थापाना गरेको पशुपतिनाथ(पार्थिव शिला) पनि तोडफोड भयो । अहिले आर्यघाटको भष्मेश्वर घाटको पश्चिम कुनामा परित्यक्त रुपमा रहेको पार्थिवशिला नै त्यो बेलाको वास्तविक पशुपति हो भनेर पनि भन्ने गरिन्छ । मुसलमान समसुद्धिनले छोएको कारण सो शिलालाइ परित्यक्त गरिएको मानिन्छ ।चौधौ शताव्दीमा ज्योतिर्लिङ्ग रुपमा पशुपतिनाथको मुर्ति बनाइएको थियो ।
चौधौं शताव्दीमा नै राजा यक्ष मल्लको समयमा पहिलो पटक भारतबाट शंकराचार्यको नेपाल आगमन भयो । शंकराचार्य नेपाल आएपछि पशुपतिनाथको प्रचार अझ बढि हुन थाल्यो । यक्ष मल्लले नै भक्तपुरमा भारतीय मन्दिर दत्तात्रेयको मन्दिर बनाएका थिए । त्यतिबेला गोसाइँ सम्प्रदायका अनुयायीहरु धर्मका कारणले भन्दा पनि ब्यापारका कारणले नेपाल आउन थालेका थिए । गोसाइहरु तिब्बतसम्म पनि पुग्दथे । यसरी नै आएका एक गोसाइँ ब्यापारी गुरुबक्श गिरीले पशुपति दर्शन गर्न आउनेहरुका लागि सहज धर्मशालाका रुपमा भक्तपुरमा पूजारीमठ बनाइदिएका थिए । यसरी भारतबाट लामबद्ध रुपमा शिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि नेपाल आउने योगीहरु, गिरीहरु तथा गोसाइँहरुको भिड लाग्न थाल्यो ।
पवित्र पाशुपतक्षेत्रमा पशुपतिनाथ जत्तिकै महत्वपूर्ण एवम् धार्मिक क्षेत्र श्लेषमान्तक हो । श्लेषमान्तक वनसँग श्लेष्मान्तक ऋषिले सत्ययुगमा तपस्यास्थल बनाएको थिए । यसले पनि पशुपतिको उत्पत्तिसँग सत्यगुलाइ जोड्न सकिन्छ । नेपाल माहात्म्यमा पशुपतिक्षेत्रको श्लेष्मान्तकमा नागराजले हजार वर्षसम्म कठोर तपस्या गरेको अर्को प्रशंग पनि छ । श्लेष्मान्तक ऋषिको तपस्याबाट प्रशन्न भएर भगवान शङ्कर माता पार्वतीसहित प्रकट भएको र वरदान दिएको किंबदन्ति पाइन्छ । भगवान शङ्करले श्लेष्मान्तक ऋषिलाई वरदान दिएपछि उनैको नामबाट यस वनको नाम श्लेष्मान्तक रहन पुग्यो ।