मृत्युसंस्कारमा पहिलो दिनदेखि १० दिनसम्मको अवधि भोक्तृत्वक्षमतावान् शरीर बन्नका लागि शास्त्रले निश्चित दिनसंख्या निर्धारित गरेको छ भने ११ औँ दिनमा उसलाई आवश्यक खाद्यवस्तु, अन्य आवश्यक सामग्री आदि दान गर्ने, प्रेतावस्थाको त्यस जीवात्मालाई १२ दिनमा पितृका साथमा सम्मिलित गराएपछि १३ दिनमा उत्तरपाथेय श्राद्ध, हवनादि शुद्धिकर्म गर्नुपर्ने शास्त्रविधान भएकाले १३ दिनसम्म नै पु¥याउनुपर्ने बाध्यता रहेको हो । यस प्रकार तोकिएका दिनादि संख्या तत्तत्दिनमा दिने पिण्डदान र त्यसबाट निर्माण एवं पूर्ति हुने अङ्ग प्रत्यङ्गहरूद्वारा सम्पूर्णाङ्ग पूर्ण भई तृप्त हुने विषयको स्पष्ट व्यवस्था छ । कुन कुन अङ्ग प्रत्यङ्गहरू कुन कुन पिण्डले कहिले कहिले कसरी पूर्ण हुन्छन्भन्ने विषय यहाँ स्पष्ट रूपमा देखाइन्छ । दिनव्यवस्था पिण्डदानसंख्या अङ्ग–प्रत्यङ्गादि बन्दै पूर्ति हुँदै जाने व्यवस्था रहेको छ ।
१) प्रथम दिनमा प्रथम पिण्ड दानले शिर भागको पूर्ण निर्माण हुने गर्छ ।
(शिरस्त्वाद्येन पिण्डेन)
२) द्वितीय दिनमा द्वितीय पिण्ड दानले कान, आँखा र नाकको निर्माण हुने गर्छ ।
(द्वितीयेन तु कर्णाक्षिानासिकाः),
३) तृतीय दिनमा तृतीय पिण्डले घाँटी, काँध, हातहरू र छातीको निर्माण हुने गर्छ ।
(तृतीयेन कण्ठ–स्कन्ध–भुज–वक्षांसि)
४) चतुर्थ दिनमा चतुर्थ पिण्डले नाभि, लिङ्ग गुदा आदि भागहरूको निर्माण हुने गर्छ ।
(चतुर्थेन नाभि–लिङ्ग–गुदानि)
५) पञ्चम दिनमा पञ्चम पिण्डले घुँडाहरू, जाँघका भागहरू र गोडाहरूको निर्माण हुने गर्छ ।
(पञ्चमे जानु–जङ्घ–पादम्)
६) षष्ठ दिनमा छैटौं पिण्डले मर्मस्थान अर्थात्जोड्नीहरू सबैको निर्माण हुने गर्छ ।
(षष्ठेन मर्माणि),
७) सप्तम दिनमा सप्तम पिण्डले नाडीहरू, शरीरका नशाहरूको निर्माण
(सप्तमेन नाड्यः)
८) अष्टम दिनमा अष्टम पिण्डले दाँतहरू र शरीरभित्रका रौंहरूको निर्माण
(अष्टमेन दन्त–लोमानि)
९) नवम दिनमा नवम पिण्डले वीर्य अर्थात्बल पराक्रम पुरुषार्थको आधान
(नवमेन वीर्यम्)
१०) दशम दिनमा दशम पिण्डले शरीरका सम्पूर्ण अवयवहरू पूर्ण भई भोक्तृत्वक्षमता आदि दशौं दिनको दशम पिण्डले प्राप्त हुन्छ ।
(दशमेन तु पूर्णत्वं तृप्तता क्षुद्विपर्ययः) ।
यस प्रकार सर्वाङ्गपूर्ण भएका त्यो आत्मा त्यतिखेर अत्यन्त बुभुक्षित हुन्छ । भोक प्यासले आतुर अवस्थामा प्राप्त हुन्छ । त्यो वुभुक्षा शान्त पार्नका लागि एघारौं दिनमा नै एघारौँको कृत्य गरिन्छ ।