

मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि दारको ठेकी संरक्षण थालिएको छ । दारको ठेकीका लागि प्रसिद्ध मकवानपुरमा ठेकी संरक्षण गर्न तालिम सुरु गरिएको हो ।
पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा २० जना महिला र ५ जना पुरुषसहित २५ जनाले तालिम लिइरहेका छन् । २० दिनसम्म चल्ने तालिमबाट लोप हुने अवस्थामा पुगेको दारको ठेकीलाई पुनः मकवानपुरमा स्थापित गर्ने उद्देश्य आयोजकले तालिम सुरु गरेको हो ।
दारको ठेकीको लागि प्रसिद्ध रहेको मकवानपुरमा पछिल्लो समय ठेकी लोप हुने अवस्थामा पुगेको भन्दै तालिमको आयोजना गरेर मकवानपुरे पहिचानलाई स्थापित गर्न खोजेको आयोजक एवं बागमती प्रदेशसभा सदस्य भारती पाठकले बताइन् ।
केही वर्ष अघिसम्म मकवानपुरमा उल्लेख्य रुपमा पाइने दारको रुखहरु अहिले लोप हुने अवस्थामा रहेको भन्दै उनले दारको रुख संरक्षणमा स्थानीयहरु सक्रिय हुनुपर्नेमा जोड दिइन् ।
सामुदायिक विकास तथा सचेतना नेपालको आयोजना तथा एफएओ र हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौँडा –५ पिप्लेमा ठेकी बनाउने तालिम दिन सुरु गरिएको हो ।
लोपोन्मुख अवस्थामा पुगेको दारको संरक्षण गर्न मकवानपुरको भीमफेदीमा दार पकेटक्षेत्र घोषणा गरेर दारको संरक्षण र प्रबद्र्धन गरिएको छ । मकवानपुरमा डिभिजन वन कार्यालयबाट मनहरी लगायतका स्थानमा गरी ३५ सयभन्दा बढी दारको बिरुवा रोपण तथा संरक्षण गरिएको छ ।