काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले बाटो बढाउने भन्दै अदालतको स्टे अर्डर उलंघन गरेर स्थानीयको घर कम्पाउण्डमा डोजर चलाएको छ । नगरपालिकाको वडा नं ६ इटालीटार जाने बाटो चौडा गर्ने भन्दै पूर्व सूचना बिना नगरपालिकाले डोजरसहित दलबल ल्याएर ज्यादति गरेको स्थानीयवासीले जनाएका छन् ।
स्थानीयवासीले काठमाडौँ खबरले जानकारी गराए अनुसार मेयर मिठाराम अधिकारी, वडा नं ६ का वडाअध्यक्ष रवि खड्कासहितका वडाध्यक्ष एवम् नगरप्रहरीले स्थानीयवासीमा निर्मम कुटपिटसमेत गरेको बताए । स्थानीयवासीले उपलब्ध गराएको भिडियोमा नगरप्रहरीसहित केही अरू मानिसले स्थानीयलाइ लछार पछार गरेको देखिन्छ ।
३ दिन अगाडिको अदालतले दिएको स्टे अर्डर देखाउँदा वडा नं ६ का वडाध्यक्षले अन्टसन्ट गाली गर्दै बाटो “खोलेरै छाडिने अदालतको स्टे अर्डर मान्नु पर्ने बाध्यता नभएको” भनेको भन्दै स्थानीयवासीले रोष प्रकट गरे ।
इटालीटार जाने बाटो चौडा बनाउने क्रममा स्थानीयवासीको घर कम्पाउण्ड पर्ने हुँदा सो विषयमा स्थानीय सरकारले एकपटक पनि स्थानीयको मर्काका बारेमा छलफल नगरी डोजरसहित दलबल ल्याएर हातपात गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । स्थानीयवासीले कानुन उपायका लागि तयारी गरेको बताएका छन् ।
स्थानीय सरकारको पहिलो प्राथमिकता भएको स्थानीयवासीको जीउधनको सुरक्षा हुनुपर्नेमा व्यक्तिको निजी जमिनमा डोजर लाउन पूर्व जानकारीसमेत नगराएको प्रति आलोचना भएको छ । नगर प्रहरी र अन्यको आक्रमणबाट आधा दर्जन स्थानीयवासी घाइते भएको बताइएको छ ।
बुढानीलकण्ठ नगरपालिकामा कतिपय ठाउँमा आजका दिनमा १३ फुटे बाटोमा घर बनाउने स्वीकृति दिने गरिएको पाइन्छ भने नगरपालिकाकै बजेटमा ११ फुटे चौडा बाटोमा ढलान गरेको दर्जनौँ उदाहरण रहेकोमा इटलीटार जाने बाटो करिब १४ फुटे रहेको बताइन्छ ।