काठमाडौं । हिजाे पूर्णिमादेखि स्वस्थानी व्रत प्रारम्भ भएको छ। माघ शुल्क पूर्णिमासम्म एक महिनासम्म हुने यस व्रतमा हरेक दिन स्वस्थानीको कथा सुन्ने/सुनाउने चलन छ। अहिले साँखुको शालीनदी र भक्तपुरको हनुमानघाटमा धेरै व्रतालु स्वस्थानीको व्रत बसिरहेका छन्। योसँगै देशका हिन्दू धर्मावलम्बीले घर–घरमा हरेक दिन बिहान वा बेलुका स्वस्थानी कथा वाचन गरी व्रत बस्ने चलन पनि छ। पछिल्लो समय देशभित्र मात्र नभएर, भारतदेखि अमेरिका, अस्ट्रेलियामा बस्ने नेपालीले समेत विधि अनुसार स्वस्थानीको व्रत लिने गर्छन्।
आज सारा नेपालीले अंगीकार गरेको स्वस्थानी कथा कुनै बेला नेवारहरूको मुख्य पर्व थियो भने उनीहरूले मात्रै मनाउथ्यो । स्वस्थानी ब्रतकथाको समापनको दिन माघ शुक्ल पूर्णिमामा नेवारहरूलाई मात्र बिदा दिने चलन थियो । नेपाल संवत् ६९३ सालको एक पुष्पिका वाक्यमा पनि स्वस्थानी व्रतकथाको बारेमा उल्लेख छ । राणा कालको एक बिदाको सूचीमा स्वस्थानी व्रत कथाको दिन नेवारहरूको लागि बिदा दिने गरिएको थियो ।
इतिहासविद्, संस्कृतिविद् काशिनाथ टमोत स्वस्थानीको मूलकथा गोमा ब्राह्मणीको कथा नै रहेको र यसको उद्भव काठमाडौं उपत्यकाबाटै भएको मान्छन्। यसको कारण बारे उनी भन्छन्, ‘अहिलेसम्म पाइएको सबभन्दा पुरानो स्वस्थानीको हस्तलिखित ग्रन्थमा गोमा ब्राह्मणी कथा मात्र छ। अन्य कथा केही छैन । पछि गएर मात्र स्वस्थानी कथामा अन्य कथा थपिँदै आएको हो।’ अहिलेसम्म पाइएको स्वस्थानी व्रतकथाको सबभन्दा पुरानो हस्तलिखित ग्रन्थ ने.सं. ६९३ (सन् १५७३) को हो। संस्कृतमा लेखिएको यसमा नेपाल लिपिको प्रयोग गरिएको छ भने धेरै ठाउँमा नेपालभाषाको पनि प्रयोग भएको छ।
यो ग्रन्थ अहिले राष्ट्रिय संग्रहालयमा सुरक्षित छ। यसपछिको अर्को सबैभन्दा पुरानो स्वस्थानी व्रतकथा ने.सं. ७२३ (सन् १६०३) को हो। यो नेवार (नेपालभाषा) भाषामा लेखिएको छ। ताडपत्रमा लेखिएको यी दुवै ग्रन्थ गोमा–नवराजको कथा र स्वस्थानी व्रतको विधिबाहेक अन्य कथा छैन। नेपालभाषामा लेखिएको कथामा स्वस्थानी व्रत विधि संस्कृतमा लेखिएको छ भने कथा नेपालभाषामा लेखिएको छ।‘प्राचीन स्वस्थानी ग्रन्थमा गोमा ब्राह्मणीको कथाबाहेक अन्य कथा नभएकाले यो नै स्वस्थानीको मूल कथा हो भन्न सकिन्छ,’ इतिहासविद् तमोट भन्छन्, ‘साथै यो उपत्यकाको मौलिक कथा पनि हो।’