काठमाडौं । गत साता शुक्रबार बुढानीलकण्ठ नगरपालिकाले सार्वजनिक सुनुवाई भनेर जोडतोडले प्रचारप्रसार गर्यो । वडा नं ११ को वडा कार्यालय अर्थात् हाल मेयर मिठाराम अधिकारीले गाविस अध्यक्ष खाएको शंकरे डाँडामा राखिएको सार्वजनिक सुनुवाइमा आउनका लागि वडाध्यक्षहरूले भरमग्दुर प्रचार गरेको उनीहरूको सामाजिक सन्जाल तथा नगरपालिका आफैले प्रकाशित गर्ने मुखपत्रमा हेर्न सकिन्छ । जताततै सार्वजनिक सूचना गरिएको सार्वजनिक सुनुवाइलाई ‘सुझाव संकलन कार्यक्रम’ भनेर बढाइचढाई पनि गरिएको थियो ।
शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि राखिएको उक्त कार्यक्रममा जनसमान्य भने कोही पनि उपलब्ध देखिएनन् । प्रस्तुत तस्वीरमा मेयर अधिकारी आफ्नो भनाई राखिरहेका छन् । मन्चमा उपमेयर अनिला लामा तथा प्रमुख प्रशासकीय अधिकृत देखिन्छन् । रित्ता कुर्सीको कुनामा दुईचार जना पत्रकारहरू देखिन्छन् ।
स्थानीयहरूको उपस्थितिबिना भएको सार्वजनिक सुनुवाइमा प्रश्नकर्ता पनि पत्रकारमात्र भएको बुझिएको छ । स्थानीय एचटिभि खबरका संचालक सविन पन्तले आफूले सार्वजनिक सुनुवाइमा बोलेको भनेर भिडियो पोस्ट गरेसँगै सार्वजनिक सुनुवाइलाई स्थानीयले महत्व नदिएको सहज अनुमान गर्न सकिन्छ ।
मेयर भएको डेढवर्ष बितिसक्दा पनि कुनै प्रभावकारी र ठोस काम र कुरा गर्न नसकेका मेयर मिठाराम अधिकारी एकपछि अर्को विषयमा विवादित भैरहेका छन् । टड्कारोरूपमा काम गर्न पर्ने सार्वजनिक जग्गा संरक्षण समिति तथा बुढानिलकण्ठ क्षेत्र विकास समितिजस्ता समितिसमेत बनाउन नसकेका अधिकारी कार्यालय आउने, दुइचारजनासँग भेट्ने, दुइचारवटा फाइलमा सिग्नेचर गर्ने अनि घर जाने कर्मकाण्डीय काममा रमाएका छन् । उनको कार्यशैली र सोचका बारेमा व्यापक आलोचना हुने गरेका छन् । नगर कार्यपालिका एवम् वडाध्यक्षहरूले पनि उनको सोच एवम् शैलीको आलोचना गरिरहेको भेटिन्छ ।