काठमाडौं – लामो तयारीपछि भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यानगरमा बनाइएको राममन्दिर आज उद्घाटन भएको छ । अयोध्यामा बनाइएको भव्य राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको हो । प्राण प्रतिष्ठा कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्य भूमिका निर्वाह गरेका थिए ।
अयोध्या रामको जन्मभूमि भएको हिन्दु धर्मालम्बीको विश्वास छ । रामको जन्मस्थानमा रहेको मन्दिर सन् १५५८ मा भत्काएर त्यहाँ बाबरी मस्जिद ठड्याएको हिन्दूहरूको दाबी छ । यसैलाई लिएर सन् १८५३ मा सो स्थानमा धार्मिक हिंसा मच्चिएको थियो ।
त्यसयता पनि हिन्दु र मुस्लिमहरुबीच पटक-पटक भएको धार्मिक हिंसामा हजारौं नागरिकको मृत्यु भएको थियो । हिन्दुहरुले त्यहाँ रहेको बाबरी मस्जिद भत्काउँदा थप हिंसा भड्किएको थियो ।
भारतका विभिन्न अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेको अयोध्याको विवादलाई सन् २०१९ नोभेम्बरमा अदालतले रामको मन्दिर निर्माणका लागि बाटो खोलिदिएको थियो । जुन समयमा भारतीय जनता पार्टीको पूणर् बहुमतसहित प्रधानमन्त्री रहेका नरेन्द्र मोदी छन् ।
भारतको सर्वोच्च अदालतले राम मन्दिर निर्माणको बाटो खोलदिएपछि सो स्थामा भव्य राममन्दिर निर्माण कार्य शुरु भएको थियो ।झन्डै २१ करोड ७० लाख अमेरिकी डलरको लागतमा बनेको नयाँ मन्दिर तीनतले छ । पिङ्क स्यान्डस्टोन तथा ब्ल्याक ग्रनाइटले बनेको उक्त संरचना ७.२ एकडमा फैलिएको छ । समग्र मन्दिर परिसर झन्डै ७० एकडमा फैलिएको बताइएको छ ।
मोदीले आज केवल भुइँतलाको मात्र उद्घाटन गर्ने छन् । बाँकी भागको निर्माण कार्य यो वर्षको अन्त्यतिर सम्पन्न हुने बताइएको छ ।मन्दिरमा राख्न बनाइएको करिब सवा चार फिट अग्लो रामको मूर्ति गत साता मात्र सार्वजनिक गरिएको थियो । मूर्तिलाई मन्दिरको गर्भगृहमा रहेको सिङ्गमरमरको आसनमा विराजमान गराइएको छ ।
आज एक समारोहमा रामको प्रतिमामा प्राणप्रतिष्ठा गरिने छ। त्यस क्रममा धार्मिक परम्पराअनुसार मन्त्रोच्चारण एवं वैदिक विधिविधानमार्फत् मूर्तिलाई ‘जीवन्त’ बनाइने बताइएको छ ।उक्त समारोहमा भारतीय प्रधानमन्त्रीका अलवा भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा रहेका योगी आदित्यनाथ लगायत थुप्रै हिन्दु धर्मसँग आस्था राख्नेहरुको सहभागिता रहनेछ ।
नेपालसहित विश्वभर रौनक
नेपालबाट पनि विभिन्न धार्मिक तथा राजनीतिक व्यक्तिहरु अयोध्या पुगेका छन् । भारतको अयोध्यामा निर्मित राममन्दिरको उद्घाटनको दिन नेपालमा सार्वजनिक बिदाको पनि चर्चा चलेको थियो । तर, सरकारी तबरबाट सार्वजनिक बिदा दिइएन । तर, नेपालका केही स्थानीय तहले भने सार्वजनिक बिदा दिएका छन् ।
अयोध्यामा नवनिर्मित राम मन्दिरमा सोमबार प्राणप्रतिष्ठा हुन लागेको भन्दै कपिलवस्तुको शुद्धोधन गाउँपालिका, सप्तरीको राजविराज नगरपालिका र बाँकेको नरैनापुर गाउँपालिकालगायत स्थानीय तहले बिदाको घोषणा गरेका हुन् ।
भारतमा राम मन्दिर प्राणप्रतिष्ठाको समय पारेर नेपालका धार्मिक पिठहरुमा पनि कार्यक्रमको आयोजना गरिएको छ । भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको खुशीयालीमा आज जनकपुरमा सवा लाख दीप प्रज्वलन गरिँदैछ । दीप प्रज्वलन कार्यक्रमका लागि जनकपुरमा भव्य तयारी गरिएको छ। जनकपुर मन्दिर परिसरलाई फूल र मालाले सजाइएको छ ।