काठमाडौं । कुटपिटमा संलग्न एक जना मेजर कारबाहीमा परेका छन् । यसैकारण कालीध्वज गणमा कार्यरत रोशन लामिछानेको पद घटुवा गरी क्याप्टेन कायम गरिएको छ । ब्याच नम्बर ४७१४ भएका उनले बिना अनुमति ब्यारेकबाहिर निस्किएर गैरसैनिक व्यक्तिहरूलाई हात हालेका थिए । श्री आपूर्ति तथा परिवहन निर्देशनालयका निर्देशक, सहायक रथी प्रेमबहादुर पुनको अध्यक्षतामा छानबिन गर्न गठित समरी जनरल सैनिक अदालतको सिफारिशअनुसार उक्त कारबाही भएको हो ।
आफ्नो काम इमान्दारिताका साथ नगर्ने प्राविधिकतर्फका लेफ्टिनेन्ट कर्णेल पनि दण्डित भएका छन् । फिल्ड निरीक्षण नगरिकन प्राप्त सुझावको आधारमा रिटेनिङ वाल थप गरी पठाउने प्राविधिक प्रमुख सेनानी लक्ष्मणप्रसाद शाहलाई सैनिक अदालतले नसिहत दिएको छ ।
पूर्वी पृतना स्थपति सेवामा कार्यरत उनले ड्रइङ्ग तथा नक्साको अध्ययन गर्दा एउटै प्रकृतिको सामानको दररेट फरक परेको थियो । आफ्नो गल्ती–कमजोरी ढाकछोप गर्न मातहतलाई दोषी देखाएका उनलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा गठित अदालतले नसिहत दिने फैसला गरेको हो ।
उता अधुरो काम गर्ने सैनिक इञ्जिनियरिङ विभागका प्राविधिक सेनानी नितेश अमात्यको बढुवा रोक्का भएको छ । ब्याच नम्बर ४५८६ भएका उनले नयाँ निर्माण हुने भवनहरूको लागत अनुमान र (बिओक्यु) अपुरो तयार गरी पृतना स्थपति सेवामा पठाएका थिए । उक्त हर्कतका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेन ।
यसबीच तीन वर्षका लागि उनको बढुवा रोक्का गर्ने फैसला भएको छ । प्राविधिक सेनानी कृष्णदेव यादवको पनि दुई वर्षका लागि बढुवा रोक्का गरिएको छ । कामभन्दा बढी रकम भुक्तानी गर्ने उनलाई बढुवा रोकेर सजायँ दिइएको हो ।
उता डिजाइन र (बिओक्यु)मा फरक भएको थाहा हुँदाहुँदै निर्माण कार्य अघि बढाउने प्राविधिक सेनानी लीलाराम सापकोटासमेत दण्डित भएका छन् । निर्माण सम्पन्न गर्नमा चासो नदेखाउने अर्का प्राविधिक सेनानीलाई पनि कारबाही गरिएको छ । शाखापतिको हैसियतले आवश्यक व्यवस्था मिलाउन पहल गर्नुपर्नेमा गैरजिम्मेवारपूर्ण जवाफ दिएर पन्छिन खोज्ने प्रा.सेनानी राजीवमोहन झाले नसिहत पाएका छन् । ब्याच नम्बर ६७४४ भएका उनको दुई वर्षका लागि बढुवा रोकिएको छ ।