युवराज त्रैलोक्य विक्रम शाह नेपालको शाह वंशका युवराज थिए । राजा सुरेन्द्र विक्रम शाहका जेठा छोराको रूपमा वि.सं.१९०४ मंसिर महिनामा जन्मिएका थिए । उनी राणाका हातमा गएको राजकीय अधिकार फर्काउन क्रियाशील रहे । त्यसैले राणाहरू त्रैलोक्यप्रति सशंकित भए । त्रैलोक्य राजा नबन्दै उनको निधन वि.सं.१९३४ मा ३० वर्षको अल्पायु उमेरमा नै भएको हुँदा उनका छोरा पृथ्वी वीर विक्रम शाह नेपालका राजा बने ।
राजगद्दी उत्तराधिकारसम्बन्धी प्रचलित व्यवस्थाअनुसार श्री ५ का छोरा वा छोरापट्टिका नाति, नाति नभए पनाति, पनाति नभए मौसुफका भाइ, भाइ नभए भाइका छोरा, भाइका छोरा नभए भाइका छोराका छोरा र नाति पनि नभए पनाति राजगद्दी उत्तराधिकारी हुने उल्लेख छ। कोही नभएमा शाहवंशभित्रमा सबैभन्दा नजिकका अन्य हकदारमध्येबाट जेष्ठताको आधारमा राजगद्दी उत्तराधिकारी हुने उल्लेख छ ।’
यो हिसाबले त्रैलोक्य युवराज भए पनि राजा हुन पाएनन् । जसका कारण उनका छोरा पृथ्वी वीर विक्रम शाह राजा भए । तर एउटा तत्कालीन लिखतमा उनलाई महाराज सम्बोधन गरेको भेटिएको छ । तर उनी कसरी महाराज भए ? भन्ने प्रश्न यहाँ आउन सक्छ ।
बिक्रम सम्बत १९०९ सालको बहीखातामा एकै बखतमा श्री ५ महाराजाधिराज, श्री ५ बूढ़ा महाराजा र श्री ५ महाराजा भनेर उल्लेख छ । श्री ५ बूढ़ा महाराजा भनेर श्री ५ राजेन्द्र वीरविक्रमलाई चिनाइएको छ भने, श्री ५ महाराजाधिराज भनेर श्री ५ सुरेन्द्रलाई चिनाइएको छ। तर श्री ५ महाराजा भनेर भनिएको व्यक्ति को होलान् भन्ने यकिन छैन । बुलेट महाराजको नामबाट चिनिएका तिनै त्रैलोक्यलाई चिनाइएको हुन सक्ने इतिहासकारहरूको मत छ ।