काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डाको राजधानी कम्पाला जाने कार्यक्रम तय भएको छ । उनी असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै बिहान सवा २ बजे काठमाडौंबाट कतार एअरवेजको उडानमा दोहा हुँदै त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री सवार उक्त एअरवेजको उडान नम्बर क्युआर ६४५ को विमान प्रस्थानभन्दा करिब आधा घण्टा अघिदेखि झण्डै १५ मिनेट पछाडिसम्म काठमाडौं उपत्यका वरपरको आकाशमा उडान प्रतिबन्ध (नोटाम) जारी गरिएको छ । प्रधानमन्त्री दाहाल माघ ७ गते सोही एअरलाइन्सको उडान नम्बर क्युआर ६५२ मा दोहा हुँदै काठमाडौं फर्कने कार्यक्रम छ । सो दिन पनि बिहान पौने ९ बजेदेखि झण्डै साढे ९ बजेसम्म काठमाडौं वरपरको आकाशमा उडान प्रतिबन्ध लगाइएको छ ।
प्रधानमन्त्रीको भ्रमणको निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान र आगमनको समयमा कुनै समस्या उत्पन्न हुन नदिन विमानस्थलमा रहेका विभिन्न निकायको बैठक राखिएको छ । बैठकले सुरक्षा निकायहरु, नेपाल वायुसेवा निगम, भन्सार र अध्यागमन, नेपाल आयल निगमलगायत निकायले गर्नुपर्ने कामको बाँडफाँड गरेको छ ।
त्यसैगरी, विमानस्थल सञ्चालन विभाग, प्राविधिक सेवा विभाग, सिभिल इञ्जिनियरिङ डिभिजन, टर्मिनल व्यवस्थापन डिभिजन, आरएफएफ डिभिजन तथा इन्टरनेसनल नोटाम अफिसलाई छुट्टाछुट्टै कामको जिम्मा दिइएको छ ।