काठमाडौं खबर माघ २, २०८०
काठमाडौं । होटल सङ्घ नेपाल (हान)ले आज अर्थात् माघ २ गते काठमाडौंमा नेपाल सत्कार दिवस मनाउने भएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै सङ्घ स्थापनाका दिवसका अवसरमा पहिलो पटक सत्कार दिवस मनाउन लागेको जनाएको छ ।
दिवसका अवसरमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरूका साथै चुनौतीबारे प्रस्तुति रहने सङ्घको भनाइ छ । अन्ठाउन्न वर्षअघि माघ २ गते स्थापना भएको सङ्घले दिवसका अवसरमा ‘नेपाल इयरबुक २०२४’ र ‘ई-लर्निङ’ प्लेटफर्ममार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन प्रशिक्षण पनि सार्वजनिक गर्ने जनाएको छ ।
दिवसका अवसरमा सातै प्रदेशका करिब ३ सय मौलिक रैथाने खाना तथा पेय पदार्थबाट देशभरका होटल व्यवसायीलगायत स्वदेशी तथा विदेशी पाहुनालाई सत्कार गरिने सङ्घको भनाइ छ ।