रोजगार र नेपालीको नियतीसँग विदेशी भूमिको साइनो सयौँ वर्ष पूरानो हो । यो पूरानो साइनो अझै मजबुत हुँदैछ । आकाशमा उड्ने प्लेनदेखि धर्तीमा गुड्ने गाडी होस् वा पैदल नै हिँडेर होस् नेपालीहरू अमेरिकादेखि भारतसम्म रोजगारीका लागि दौडिरहेको देखिन्छ । तस्वीरमा देखिएको दृष्य नेपालगन्ज जमुनाह नाकाको हो । यो नाकाबाट पश्चिम नेपालका गरिब जनताको लस्कर भारततिर काको खोजीमा निस्किएका हुन् । यही भीडमा भेटिएका एउटा पात्र हुन् पश्चिम रुकुमको मुसिकोट नगरपालिका- ९ सुहाँराका ४२ वर्षीय टोपबहादुर परियार ।
गत बुधबार नेपालगन्जको जमुनाह नाकामा भेटिए का परियारको जाजरकोट केन्द्र भएर गएको भूकम्पमा उनको घर भत्केको छ । तर, उनले अहिलेसम्म राहत पाएका छैनन् । घर बनाउने पैसाको जोहो गर्न उनी भारतको सिम्ला पहाड जान हिँडेका हुन् । ‘नेपालमा बसेर घर बनाउन नसकिने भयो । पैसा कमाउन भारतको सिम्ला पहाड जाने निधो गरेँ,’ उनले भने, ‘नेपालमा नियमित रूपमा काम पाइँदैन । काम पाए पनि उचित ज्याला पाइँदैन । भारत नगए घर नबन्ने भन्ने लागेपछि कामको खोजीमा भारत जान बाध्य भएँ ।’
आफ्नो देश छाडेर भारत जानुपर्दा मन दुखेको उनले बताए । आफ्नो देश, परिवार र समाज छाडेर जाँदा नमज्जा लागेको बताउँदै उनले नेताका कारण देशमा आर्थिक संकट निम्तिएको बताए । ‘आफ्नो देश छाडेर जाने रहर होइन, बाध्यता हो,’ उनले भने, ‘देशका नेताले राम्रो काम गरेको भए काम खोज्दै बाहिर जानुपर्ने थिएन । नेताका कारण हामीले दुःख खेप्नुपरेको छ ।’
सोही ठाउँका ६५ वर्षीय टसबहादुर बुढा पनि जमुनाह नाका हुँदै सिम्लातर्फ गएका छन् । भारी मन लिएर भारत जाँदै गरेका उनको घर बनाउने धोको छ । भूकम्पले उनको घरमा पनि क्षति पुगेको छ । ‘घर बनाउन कतैबाट सहयोग पाइएन । भारत गएर कमाउने शिवाय अरू उपाय भएन,’ उनले भने, ‘गरिबको दुःख न त केन्द्र सरकारले बुझ्यो, न स्थानीय सरकारले नै सुनुवाइ गर्यो ।’
जुम्लाको गोठीचौर गाउँपालिका- २ मुरुल्लीका भक्तबहादुर बुढा आमासँगै भारत गए । कृषि पेसामा निर्भर उनको परिवार हरेक वर्षको हिउँदमा उतै जान्छ । ‘जुम्लामा उत्पादित वस्तुले बजार पाउँदैन । काम पनि पाउन मुस्किल छ । ज्याला पनि एकदमै थोरै पाइने भएकाले भारत नगई सुखै छैन,’ उनले भने, ‘आफ्नो देश छाडेर जान कसलाई पो मन लाग्दो हो?’
पश्चिम रुकुमको आठबिसकोट नगरपालिका- १२ खुलीबार्खुका खलबहादुर पनि पत्नीसँगै भारतको सिम्ला गएका छन् । नेपालमा काम नपाइने भएकाले भारत जान थालेको भनाइ उनको पनि थियो । सिम्लास्थित एक बजारमा सामान ढुवानीको काम गर्न सिम्ला जान लागेको उनले बताए । सामान ढुवानी गरेर दैनिक सरदर सात सय रुपैयाँ हुने गरेको उनले बताए । ‘सिम्लामा कामका हर्जा हुँदैन । जति धेरै काम गर्न सक्यो, उति धेरै कमाइ हुन्छ । काम गर्न सक्नेले दैनिक १२ सय भारु पनि कमाउँछन्,’ उनले भने ।