बाघभैरवलाई गोरखाका राजा पृथ्वीनारायण शाहको कुकृत्य देख्ने एउटा साक्षी देवताका रूपमा लिने गरिन्छ। पृथ्वीनारायण शाहलाई युद्धमा कीर्तिपुरका एक जना सिपाहीले काटेर मार्न खोज्दा अर्को सिपाहीले छेकेर युद्धको नियमअनुसार राजालाई राजाले मात्र मार्न पाउँछ हामीले हुँदैन भनी नमारी बचाएको मान्यता छ । त्यसपछि युद्ध भइरहेको स्थानबाटै पृथ्वीनारायण शाहलाई एक जना खड्गी र अर्को पुतवार नेवारले थानकोटबाट फर्काएर पठाएको भन्ने भनाइ छ ।
तर, यस्तो गुणको बदला उल्टैपछि फेरि पृथ्वीनारायण शाहले आक्रमण गरेर राजा ज्ञानप्रजा मल्ल र रानी कीर्तिलक्ष्मीलाई मारिसकेपछि निहत्था कीर्तिपुरका जनताको नाक काटेर १२ धार्नी नाक पृथ्वीनारायण शाहले थानकोटको त्रिभुवन पार्कनजिक न्हायद्वं भन्ने स्थानमा पुरिदिए भन्ने मान्यता छ । तर यसको प्रमाण भेटिएको छैन । युद्धको धर्मविपरीत सर्वसाधारण जनताको नाक काटेर पुरिदिएकाले हालसम्म पनि पृथ्वीनारायण शाहको त्यस कुकृत्यलाई सम्झेर न्हायद्वं पुग्नेबित्तिकै कीर्तिपुरेहरूले थुक्ने गर्छन् ।
बडा महाराजधिराज पृथ्वीनारायण शाहले काजी कालु पाण्डेको सल्लाह नमानी कीर्तिपुर आक्रमण गर्दा काजी कालु पाण्डेले मात्र वीरगति प्राप्त गरेनन् स्वयम् राजा पृथ्वीनारायणको ज्यान पनि जनताले युद्दमा राजा मार्न हुन्न भन्ने तत्कालीन नेपाल मण्डलको सामाजिक मान्यताले जोगिएको थियो । युद्दमा घाइते राजा पृथ्वीनारायण शाहलाई कीर्तिपुरकै पुतवार थरको नेवारले बोकेर बचाएका थिए ।
त्यही पुतवारको सन्तान भिग्राल सिंहलाई सो गाथ बचाए बापत राजा रणबहादुर शाहले नुवाकोटमा घर जग्गा बक्सिस दिएको र पछि १८५० सालमा बुढानीलकण्ठमा पनि जग्गा बक्सिस पाएका थिए। सोही जग्गा दर्ता गर्न महाबौद्ध बस्ने जीत बहादुर पुतवारले १९६५ सालमा चढ़ाएको बिनतीपत्रमा उल्लेख भेटिएको छ ।