- रामेश्वरी पन्त
स्वस्थानी व्रतको सुरुआत कहिले र कसरी भयो भन्ने सम्बन्धमा कुनै यकिन प्रमाण नभेटिए पनि हालसम्म नेपालमा पाइएको सबैभन्दा पुरानो स्वस्थानी कथा (राष्ट्रिय अभिलेखालयमा पाइएका पुस्तकहरूबाट प्राप्त जानकारी अनुसार) संस्कृत भाषामा वि.सं. १६२९(ने.सं.६९३)मा लेखिएको भन्ने कुरा अमेरिकी महिला जेस्सीका भेन्टिन बर्केन्होल्जको शोधपत्र (पृ.१४)मा उल्लेख छ । उनका अनुसार संस्कृत भाषामा लेखिएको आठपत्रे स्वस्थानी कथालाई ३० वर्षपछि वि.सं. १६५९ (ने.सं. ७२३)मा नेवारी भाषामा उल्था गरियो, जुन ३४ पत्रको थियो । यसपछि नेवारीमा लेखिएको २०७ वर्ष पछि र संस्कृतमा लेखिएको २३७ वर्ष पछि नेपाली भाषामा ५५ पत्रे स्वस्थानी लेखिएको पाइन्छ ।
वि.सं.१८६६(ने.सं. ९३०)मा नेपाली भाषामा उक्त ५५ पत्रे स्वस्थानी लेखिएको र सो पुस्तक तानसेन श्रीनगरमा सक संवत् १७३२, बैशाख शुक्ल सप्तमी, बुधबारका दिन केशर सिंह बस्नेतले लेखेका थिए भन्ने कुरा जेस्सिकाले आफ्नो विद्यावारिधिको शोधपत्रमा उल्लेख गरेकी छन् । (पृ.७८) । यो नै हालसम्म प्राप्त स्वस्थानी मध्ये नेपाली भाषामा लेखिएकोे पहिलो स्वस्थानी हो भन्ने उनको दाबी छ । यसैगरी तमोट(पृ.७) लेख्नुहुन्छ- ‘प्राप्त प्राचीन संस्कृत स्वस्थानी ने.सं. ६९३ फागुन शुक्ल पञ्चमी, बिहीबार जयन्त देवले सारेको प्रति हो जुन ताडपत्रमा लेखिएको हस्तलिखित स्वस्थानी हो र यो नै स्वस्थानी परंपराको मूल ग्रन्थ मान्नु परेको छ र यो राष्ट्रिय अभिलेखालयमा तेस्रो लगत १९१ संख्यामा रहेको छ । (स्मरणीय छ, जेस्सिकाले तमोटको उक्त लेखलाई पनि आफ्नो अनुसन्धानको आधार बनाएको कुरा स्वयं तमोटले यस लेखकलाई जानकारी गराउनुभएको हो ।)
नेपाल जर्मन पाण्डुलिपि संरक्षण योजनाले सन् १९७०-९० भित्र ६२६ वटा स्वस्थानीको छविचित्र लिएको कुरा तमोटको लेखमा पाइन्छ । उक्त लेख अनुसार हालसम्म प्राप्त ३२९ वटा स्वस्थानीमा २७५ नेवारी, ३८ नेपाली र १४ संस्कृत भाषाका पुस्तक पाइएकोले स्वस्थानीमा नेवारी लोकपृयता पाइन्छ भन्ने तमोटको विचार रहेको छ । हाल प्रचलित स्वस्थानीको आधारशिला विश्वराज शर्माद्वरा लिखित तथा सर्व हितैसी कम्पनी वाराणसी द्वारा वि.सं. २०३७ (सन् १९८०)मा प्रकाशित स्वस्थानीलाई बनाइएको छ । यसैगरि १८६७ को स्वस्थानी पाल्पा श्रीनगरका केशर सिंह बस्नेतले सारेको कुरा पनि तमोटको लेखमा उल्लेख भएको छ ।
‘नेपालको सुदूर पश्चिममा स्वस्थानी परंपरा पुग्न नसक्नु तर पाल्पामा स्वस्थानी लेखिनुबाट काठमाण्डौ उपत्यकाको प्रभावक्षेत्रबारे जान्न सकिने’ उल्लेख गर्दै तमोटले आफ्नो लेखमा लेख्नुभएको छ- ‘पाल्पाका मुकुन्द सेनले काठमाण्डौमा वि.सं. १५८१-१५८२ मा हमला गरेका थिए र यसैबेलादेखि स्वस्थानीको प्रचलन पाल्पामा पुगेको हुनुपर्छ ।’ यसरी पाल्पामा स्वस्थानी पाइनुले पनि काठमाण्डौको प्रभाव पश्चिममा रहेको बुझ्न सकिन्छ भन्ने आसय तमोटको रहेको छ तर नेपालको सदूर पश्चिममा स्वस्थानी परंपरा पुग्न नसकेको भन्ने तमोटको भनाई सत्य नरहेको कुरा नेपालको सुदूर पश्चिम बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर लगायतका विभिन्न जिल्लामा परंपरागत रुपमै अत्यन्त महत्व र आस्थाका साथ स्वस्थानी व्रत लिने र कथा सुन्ने प्रचलन रहेको कुराबाट दावी गर्न सकिन्छ । जुन कुरा यी क्षेत्रका केही मानिसहरूसँग सम्पर्क गरि स्वस्थानी व्रतकथाको प्रचलनबारे जिज्ञासा राख्दा थाहा भयो । प्राप्त जानकारी अनुसार सुदूर पश्चिममा स्वस्थानी व्रतपरंपराको निकै महत्व रहेको र अत्यन्त आस्थापूर्वक पौष शुक्ल पूणर्ीमादेखि माघ शुक्ल पूणर्ीमासम्म नै विधिपूर्वक स्वस्थानी व्रत लिने र कथा सुन्ने प्रचलनले निरन्तरता पाइरहेको छ ।
सुदूरपश्चिमका विभिन्न स्थानमा रहेका प्रशिद्ध शक्तिपीठहरू सतीदेवीको शरीरका विभिन्न अङ्गहरू पतन भएर स्थापित भएका हुन् भन्ने मान्यता पनि रहेको छ । सतीदेवीका अङ्गहरूबाट उत्पन्न एकाउन्न शक्तिपीठहरूमध्ये करिब पन्ध्रवटा शक्तिपीठहरू नेपालको मध्ये तथा सुदूर पश्चिमका विभिन्न जिल्लामा रहेको कुरा शक्तिपीठ र तीनको नाम सहित आफ्नो पुस्तक ‘श्री श्री श्री स्वस्थानी’मा महेश्वर जुजु राजोपाध्यायले उल्लेख गर्नुभएको छ । सुदूर पश्चिममा स्वस्थानीको प्रचलन रहेता पनि हालसम्म सुदूर पश्चिमेली(डोटेली) भाषामा भने स्वस्थानीको पुस्तक नलेखिएको पाइयो । तर कुनैकुनै पुराना हस्तलिखित स्वस्थानी कथाको लवज भने उतैको जस्तो पाइनुले कथाका पुस्तक लेखिने कार्य सुदूर पश्चिममा पनि भएको अनुमान लगाउन सकिन्छ । हालै मात्र बैतडी, पुजारी गाउँका विद्वान परमानन्द जोशीले पद्यमा ‘श्रीस्वस्थानी व्रतकथा’ नामक पुस्तक लेखेको पाइयो । नेपाली भाषामा पद्यमा लेखिएको १७० पृष्ठको स्वस्थानी व्रतकथा सायद यो नै पहिलो हुन सक्ला ।
यी लेखकसँगको कुराकानीबाट पनि सुदूर पश्चिममा स्वस्थानी व्रतकथाको प्रचलन र महिमा निकै पुरानो रहेको कुरा पनि जानकारीमा आयो । तर पनि नेपालको सदूर पश्चिममा स्वस्थानीको परंपरा ठ्याक्कै कहिले देखि शुरु भयो भनेर भन्न सकिंदैन । स्वस्थानी लेखनको इतिहासलाई हेर्दा सबैभन्दा सानो स्वस्थानी सबैभन्दा पुरानो ताडपत्रमा हातले लेखिएको ८ पत्रको रहेको र सबैभन्दा ठूलो (५७ गुणा बढी) ४५८ पत्रको रहेको जुन ने.सं.१०४०(वि.सं.१९७७)को नेवारी भाषाको रहेको भेटिएको पनि तमोटको लेखमा उल्लेख भएको छ ।
जेस्सिकाले अनुसन्धानको क्रममा १२५ वटा स्वस्थानी व्रतकथाका पुस्तक अध्ययन गरेको उल्लेख गरेकी छन् जसमध्ये संस्कृतमा लेखिएको सबैभन्दा पुरानो स्वस्थानी नेपाल संवत ६९३(वि.सं.१६२९)को रहेको र यो ताडपत्रमा हातले लेखिएको आठपत्रे रहेको कुरा उल्लेख गरेकी छन् । जेस्सिका लेख्न्छिन्-‘१६औं सताब्दिको सानो स्वस्थानी कथाले १९औं सताव्दिसम्म आइपुग्दा पुराणको रुप लियो ।’ उनी लेख्छिन् ‘१८औं सताव्दिसम्म स्वस्थानी कथालाई पुराणसँग जोडिएको थिएन । यसमा स्थानीय कथा-शिवभट्ट, गोमा, नवराज र चन्द्रावतीको कथा मात्र थियो ।