नेपाल मण्डल एक साँस्कृतिक भूमि मात्र नभएर एक विशुद्ध आध्यात्मिक भूमि पनि हो। यहाँ अनेकौं धर्मको प्रभाव रहेता पनि बौद्ध र शैव/शाक्त परम्पराका सँस्कृतिहरु बढी हावी छन् । बौद्ध परम्परा अन्तर्गत साधनाको विषय रहेको र विशेषतः गुह्य राखी अरु सर्वसाधनहरुलाई भन्न नहुने भनेर लिने गरिने आगं द्य हरुका मुर्तिहरु समेत चोरी भई , यससँग सम्बन्धित अमूर्त परम्पराहरुको समेत निरन्तरता कायम नभएर आजकालका युवापिंधिहरु यस सम्बन्धि बेखबर भई हाम्रो अमूल्य निधि गुमाउनुपर्ने अवस्था आएको हुदा यस सम्बन्धि चर्चा गर्नुपर्ने आवश्यकता ठानेर यहाँ संक्षिप्तमा केही कुराहरु राख्न चाहन्छौं ।
विशुद्ध बौद्ध दर्शनको सुत्र या आगमलाई उत्तेजना र शक्ति रुपान्तरको माध्यमबाट ( तान्त्रिक माध्यम) देखाउन देवताहरुको सम्भोग आसन सहित अनेकौं प्रतिमा लक्ष्यणहरु समाहित गरि बनाइएको पौभा, मण्डला या मुर्तिलाई नै आगम देउता, आगं द्य भनेर भनिन्छ । यसलाई उच्चकोटीको तन्त्र भनी अनुत्तरयोग तन्त्रको रुपमा व्याख्या र अभ्यास गरिएको पाइन्छ । जस्तै गुह्यसमाज, चक्रसम्भर, हेबज्र , चण्डमहारोषण, कालचक्र तन्त्र इत्यादी । यी तन्त्र अभ्यास गर्न बनाइएको घरलाई आगं छें ( आगम घर ) र कोठालाई आगं कोठा ( आगम कोठा ) भनेर भनिन्छ । आगं कोठा भित्र देखा लिएका गुठीका सदस्य ( दीक्षा लिएका) हरुलाई मात्र प्रवेश गराइन्छ ।
नेवाः सँस्कृति विभिन्न धार्मिक परम्पराको प्रभावमा विकास भएको मिश्रित सँस्कृति हो । यसमा विशेषतः बौद्ध धर्मको प्रभाव अलि धेरै र अलि पुरानो मानिन्छ, त्यही भएर नेपालमण्डलमा करीब ४०० भन्दा बढी बौद्ध विहारहरु ( बहा / बही ) परम्परागत तरिकाले सञ्चालित छन् र यस सँग सम्बन्धित अनुयायीहरु पनि धेरै छन् । जब भगवान् बुद्धले ज्ञान प्राप्त गरे वहाँले सिकाउनु भएको शिक्षालाई लिपिबद्ध गरेर पाली सुत्रहरुमा सञ्चय गर्ने काम भयो । विस्तारै पछि परम्परागत स्थविरवाद धारबाट अलग्गिएर केही बौद्धहरुले महासांगिक परम्पराको उदय गरे र बिस्तारै सँस्कृत भाषामा पनि बुद्धका सुत्रहरुलाई परिष्कृत गरी उल्था हुन थाल्यो र महायान बौद्ध धर्मको विकास भयो । चिनियाँ यात्रीहरुले पनि चिनी भाषामा उल्था गर्न थाले र ती सुत्रहरुलाई सँस्कृत/ चिनी भाषामा आगम भन्न थालियो । नेपाल मण्डलमा परम्परागत स्थविरवाद र महायान दुबै बौद्ध परम्पराको विकास भएको कुरा बही र बहाको अस्तित्व रहेकोले बुझिन आउँछ । बही वस्तीबाहिर त्यागी भिक्षुहरुलाई ( स्थवीरवादी) बनाइन्थ्यो भने बहा वस्ती भित्रै गृहस्थ भिक्षुहरुलाई (महायानी) बनाइन्थ्यो ।
महायान पछि बज्रयान बुद्धधर्मको प्रथम सुत्रधरका रुपमा गुरु पद्मसम्भवलाई लिइन्छ जसले तन्त्र परम्पराको विकास गरे । उनले विभिन्न भौगोलिक स्थानहरुमा धेरै शिष्यहरु बनाए जसमध्ये ५ स्थानका महिला शिष्यहरु उनी निकट रहेर साधना गरेको सन्दर्भ अलि प्रख्यात छ । जस्तो कि बङ्गाली राजकुमारी मन्दरभ पद्मसम्भवकै गुह्य सानिध्यमा हाम्रै नेपालको हलेसी गुफा मा साधना गरि सिद्ध भइन् । त्यस्तै तीब्बतकी येत्से त्सोगल, हिमाचल प्रदेशकी बेलवङ्ग कलासिद्धि, नेपालकी बेल्मो शाक्यदेवी र भुटानकी ताशी केइदेन हरु पनि गुरु पद्मसम्भवको सानिध्यमा सिद्ध भएको कथन रहेको छ र कालान्तरमा ज्ञान डकिनी को रुपमा तिनीहरुलाई पद्मसम्भवकै महिला सहयोगीको रुपमा चित्रण गरि बौद्ध सुत्रहरुलाई तान्त्रिक माध्यमबाट जनाउन तिनीहरुलाई सम्भोग आशनमा देखाउन थालियो । यसरी नै सर्वप्रथम सम्भोग आशनका देवताको विकास हुन पुगेको भनिन्छ । ७/८औ शताब्दीपछि नालन्दा विश्वविद्यालयको अग्रसरमा महायानी आगम सुत्रहरुलाई तन्त्रमा बदल्ने कामहरु व्यापक रुपमा भयो र यसमा लुहिपा, घान्तोपा, विरुपा जस्ता ८४ सिद्ध गुरुहरु लागि परे । संयोगवश शैव तन्त्रमा शिव र पार्वतीको संवादलाई पनि आगम भनिन्छ ।
त्यसैले कोही कोही विद्वानहरुले शैव तन्त्रको प्रभावबाट बौद्ध तन्त्र विकास भएको भनेर पनि भन्ने गरिन्छ तर यसलाई बौद्ध विद्वानहरुले स्वीकार गरेको छैन र बौद्ध तन्त्रबाट नै शैव तन्त्रको उदय भएको मान्दछन्। कुरा जे भएपनि ती बौद्ध आगम सुत्रलाई तन्त्रलाई रुपान्तर गर्न यान्त्रिक चित्र बनाउनु पर्ने भएकोले दुई देवता/देवीहरुलाई सम्भोग आसनमा देखाएर बौद्ध दर्शनलाई उत्तेजित शक्ति रुपान्तरण विधिको रुपमा देखाउन अनेकौं प्रतिमा लक्ष्यणहरु पनि देखाएर पौभा, मण्डला र मुर्तिको निर्माण गरी विभिन्न देवी देवताको नामकरण भएको पाइन्छ जसको नेपालमण्डलका बहाहरुमा व्यापक रुपमा विकास र अभ्यास पनि भएर धेरै जना साधकहरु सिद्ध भएको ईतिहास रहेको छ । यसरी अनेकौं किसिमबाट क्रिया, चर्या, योग तन्त्रहरुको विकास भए जस्तै उच्चकोटीको तन्त्र भनेर अनुत्तरयोग तन्त्रमा ती सम्भोग आशनमा बस्ने देवताहरुलाई देखाई बौद्ध दर्शन बुझाउन माध्यम बनाइयो । ती देवताहरुलाई नै आगम देवता या नेवाः भाषामा आगं द्य भनेर भनिन्छ जसलाई गुरुको सानिध्यमा गुह्य तरिकाले साधना गरे छिट्टै सिद्ध हुने कुरा विश्वास गरिन्छ र नेपालमा गुठी परम्पराबाट बहा/बहीमा यसको संरक्षण हुँदै आएको छ । सबै तन्त्रहरुको उद्देश्य भनेकै अन्तोतग्वता शुन्यतारुपि शरिरको बोध गराउनु हो । पछि उत्तर मध्यकालमा स्थविरवाद अङ्गालेका बहीहरुमा पनि बिस्तारै आगं द्यको परम्परा विकास भएको पाइन्छ । त्यस्तै निजी घरहरुमा पनि छुट्टै आगं द्यको स्थापना गरि तन्त्र अभ्यास गर्ने पनि चलन सुरु भएको देख्न सकिन्छ ।
१२ औं शताब्दीमा नालण्डा विश्वविद्यालय ध्वस्त हुनु पुर्व तीब्बतीहरु नालण्डा, विक्रमशीला विश्वविद्यालय र नेपालमण्डलबाटै बज्रयान बुद्धधर्म सिकी यसलाई अझै व्यापक रुपमा विकास गरे । जस्तो कि योगाम्बर तन्त्र तीब्बती भिक्षु मार्पालाई नेपालका गुरु पैन्डपाले ११ औं शताब्दीमा सिकाउनुभएको थियो जुन तीब्बतमा निकै प्रख्यात र विकास भयो । आज बज्रयान बुद्धधर्म विश्वमाझ लोकप्रिय हुनुको पछाडि नै यस्ता गुह्य तन्त्र समाहित भएको दर्शन भएको हुदा बज्रयानको एउटा साम्प्रदायीक विचारधारा नेवाः बुद्धिज्ममा आगं द्यको निकै महत्त्व रहेको छ । बौद्ध नेवारहरु विशेषतः बज्रचार्य, शाक्य र तुलाधरहरुको आगं द्य हुने गर्दछ जुन समुदायहरुको पुरुषहरुलाई देखा दिई ( दीक्षा ) सकेपछि मात्रै आगं द्यको दर्शन गर्न दिने र गुठीको सदस्य बानाउने चलन रहेको हुन्छ । अरु समुदायहरुको पनि आगं द्य भए कृपया कमेन्ट गर्नुहोला । बुङ्गमतीमा विभिन्न आगं द्यहरु इतिहासको विभिन्न कालखण्डमा विभिन्न समुदायहरुबाट विकास भएको भइन्छ । ती आगं द्य का नामहरु र त्यसलाई पालना गर्ने समुदायहरुको नाम निम्न प्रकारका छन् जुन हामीले यससँग सम्बन्धित गुठियारहरुलाई सोधेर तयार पारेका हौं , कतै भुल या नमिले सच्याइदिन हुन विनम्र अनुरोध गर्न चाहन्छौं ।
१. अमरावतीपुर विहार ( बुङ्गमती) – सबै बुङ्गमतीवासीको आगंद्य – योगाम्बर- ज्ञानेश्वरी – पिगंद्य हो ।
२. प्रथमपुरमहाविहार ( बुङ्ग बही ) – बेखुं बरे या ब्रह्मचार्य भिक्षुहरुको चण्डमहारोषण र चक्रसम्भर- बज्रवाराही
३. नरेन्द्रदेव संस्कारित बुङ्ग बहा ( मच्छिन्द्रबहाल) – करुणामय र पाञ्जुहरुको योगाम्बर- ज्ञानेश्वरी
४. रुद्र बहा ( मु ननि) र बन्दे ननि – देलाजु शाक्यहरुको – (हयग्रीव – वज्रवाराही, अनुमानित)
५. क्वछें बहा – देख: खलः शाक्य , हेबज्र – नैरात्मा ( शिलापत्रमा उल्लेखित )
६. चोहेलननी बज्रचार्य – (चक्रसम्भर- बज्रवाराही )
७. चोछें बज्रचार्य – मञ्जुश्री ( यमानन्तक अनुमानित गरिएको )
८. तगः चिबा शाक्य : थाहा नभएको – योगाम्बर ज्ञानेश्वरी अनुमानित गरिएको
९. (चिगः चिबा ) शाक्य : थाहा नभएको – योगाम्बर ज्ञानेश्वरी अनुमानित गरिएको
यी बाहेक अरु आगं द्यहरु बुङ्गमतिमा स्थापित भए हामीलाई मेशेज गर्नुहोला । यसरी बुङ्गमतीको संस्कृतिको विकास बज्रयान बुद्ध धर्मबाट बढी भएको पुष्टि हुन आउँछ । यस्तो गुह्य तन्त्रहरुको अभ्यास आज हराएको या शुद्ध रुपमा नभए पनि आज पनि तिब्बत र नेपालमै यसलाई शुद्ध रुपले सिकाउने गुरुहरु रहेको हुदा उहाँहरुबाट सिकी हाम्रो वास्तविक अमुल्य मुल्य मान्यतालाई तिखार्नु पर्ने देखिन्छ ।