काठमाडौँ । मध्य जाडोमा पनि दैनिक एक/दुई डेंगु संक्रमित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्ने गरेका छन्। अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पछिल्ला केही वर्षयता चिसो मौसममा समेत संक्रमण देखिएको छ।
सामान्यतया डेंगु संक्रममण सर्ने एडिस जातको लामखुट्टेको प्रजननका लागि १६ डिग्री सेल्सियस वा माथिको तापक्रम उपयुक्त हुने गरी आफूलाई परिवर्तन गरिसकेको डा.पुनको भनाइ छ। डेंगी संक्रममण सर्ने एडिस जातको लामखुट्टेले आफूलाई हरेक मौसम (गर्मी तथा जाडो) जुनसुकै मौसममा पनि बाँच्न सक्ने गरी परिवर्तन गर्दा चिसो मौसममा पनि डेंगुको समस्या नघटेको बताउँछन्। ‘पछिल्लो २/३ वर्ष यता चिसो मौसममा पनि डेंगु संक्रमण देखिन रोकिएको छैन, मध्य जाडोको यो मौसममा अहिले पनि डेंगुका बिरामी उपचारका लागि आउँछन्’ डा पुनले भने, ‘एडिस जातको लामखुट्टेले आफूलाई हरेक मौसममा बाँच्न सक्नेगरी आफूलाई परिवर्तन गरिरहेको छ, जसले गर्दा डेंगु बाह्रै महिना देखिन थालिसकेको छ।’
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार पछिल्लो चार वर्षयता कुनै पनि महिना डेंगी केस शून्यमा झरेको देखिदैन। गत वर्ष सन् २०२२ को नोभेम्बरमा ४ हजार २९० र डिसेम्बरमा ४८३ केस देखिएको थियो । यस्तै यो वर्ष ( सन् २०२३ जनवारी देखि डिसेम्बर) सम्ममा देशभर ५१ हजार १२२ संक्रमित भेटिएका छन् र यो समयमा २० जना संक्रमितको मृत्यु समेत भएको छ। जसमा झण्डै २ हजार ५०० जति संक्रमित नोभेम्बर र डिसेम्बर महिनामा मात्रै भेटिएका छन। जबकी नोभेम्बर र डिसेम्बर महिना जाडो महिनाको रूपमा लिने गरिन्छ।
यति मात्रै होइन ईडीसीडीको विवरणमा नोभेम्बर र डिसेम्बरमा काठमाडौं उपत्यकामा पनि डेंगुको केस १०० भन्दा माथि देखिएका छन्, जसमा नोभेम्बर मात्रै काठमाडौ,ललिपुर र भक्तपुरमा क्रमश १०८,३१ र ३० वटा डेंगु केस देखिएका छ्न भने डिसेम्बरमा काठमाडौंमा २७, ललितपुरमा ८ र भक्तपुरमा ९ वटा केश भेटिएका छन्।
ईडीसीडीको विवरणअनुसार काठमाडौंमा कात्तिक दोस्रो सातासम्म एक हजारभन्दा कम रहेको डेंगुबाट संक्रमितको संख्या हाल दुई हजारभन्दा बढी छ। हाल काठमाडौंमा २ हजार ७६ जना, ललितपुरमा ५४३ र र भक्तपुरमा ६३० जना डेंगु संक्रमित छन्। यस्तै अहिले पनि देशभर २० वटा जिल्ला डेंगु संक्रमणको ‘रेड जोन’मा छन्।
काठमाडौंको न्यूनतम तापक्रम ५ देखि ८ डिग्री सेल्सियसबीचमा रहँदा डेंगु सार्ने लामखुट्टे अझै किन सक्रिय छ त? डा. पुन भन्छन्, ‘यसको प्रमुख कारण भनेको जलवायु परिवर्तन नै हो। अब हाम्रोमा डेंगु गर्मी मौसममा मात्रै देखिने मौसमी संक्रमण नभएर बाह्रै महिना देखिने संक्रमणको रूपमा परिवर्तन भएको छ त्यसैले संक्रमणबाट जोखिने उपाय सधैँ अपनाउनु पर्ने अवस्था आएको छ।’
लामो समयदेखि डेंगु संक्रमणको नियन्त्रणमा काम गर्दै आएका भेक्टर वर्न डिजिजका एक्पट भेक्टर कन्ट्रोरल सुपरभाइजर उत्तम प्याकुरेलका अनुसार पछिल्लो समय एडिस लामखुट्टेले कम तापक्रममा पनि आफूलाई बाँच्न सक्ने गरी आफूलाई परिवर्तन गराउँदा नेपालमा बाह्रै महिना संक्रमण देखिन थालेको बताउँछन्। ‘हाम्रोमा अब डेंगु सिजनल संक्रमण रहेन किनकी कम तापक्रममा पनि बाँच्न सक्न गरी एडिस जातको लामखुट्टेले आफूलाई परिवर्नत गरिसकेको छ’, प्याकुरेलले भने, ‘ यो हाम्रो लागि चुनौतीको विषय हो’।
डेंगु,औलो,कालाजार जस्ता किटजन्य संक्रमण बढ्दै जानुको प्रमुख कारण जलवायु परिवर्तन नै भएको विज्ञ बताउँछन्। ‘जलवायु परिवर्तनले किटजन्य संक्रमण फैलिएर जनस्वास्थ्यमा चुनौती थपिएको छ। अब यसलाई नियन्त्रण गर्न दीर्घकालीनरूप उपाय अपनाउनु पर्छ’ उनले भने।