नेपाली विद्यार्थीहरूको पहिलो गन्तव्य थलो बनेको अस्ट्रेलियले दुई साताअघि आफ्नो शिक्षा नीति तथा कार्यक्रममा आप्रवासन रणनीति सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा कटौती गर्ने र सेवासुविधामा कटौती गर्ने निणर्य गरेपछि नेपाली विद्यार्थीहरूमा पनि त्रासदी छाएको छ।
उच्च अध्ययनका लागि आएका अन्तर्राष्ट्रिय विद्यार्थीको पढाइ र काम गराइमा तालमेल नभएका कयैन् प्रमाण फेला परेपछि सरकारले उनीहरूको तथ्यांक खोतल्न थालेको थियो। सोही कारण केही नेपाली विद्यार्थीहरूको प्रवेशाज्ञा रद्द भएको र कयैनमाथि प्रश्न उठेपछि विद्यार्थीहरूमा त्रासदी छाएको हो।
‘आगामी केही वर्ष हामी विदेशी विद्यार्थीको संख्या बढाउन चाहँदैनौं,’ अस्ट्रेलियाकी गृहमन्त्री क्लेर ओनीलले अस्ट्रेलियाको संघीय सरकारको दश वर्षे आप्रवासन रणनीति सार्वजनिक गर्दै भनेकी थिइन्।
नयाँ वर्षको सुरूदेखि नर्सिङमा काम गर्ने विद्यार्थीहरूको समेत काम गर्ने समयसीमा तोकिएको छ। जसबाट हजारौं विद्यार्थी प्रभावित हुने पक्का छ। अस्ट्रेलियामा महत्वपूणर् योगदान गर्दै आएको नेपालजस्तो देशले नयाँ आप्रवासन नीतिलाई अवसरको रूपमा लिनुपर्छ। चीन र भारतजस्ता देशहरूसँगै तुलना गर्दा पनि नेपाली आप्रवासीले यहाँको अर्थतन्त्रमा ठूलो हिस्सा योगदान गर्दै आएका छन्।
‘अस्ट्रेलिया सरकारको चिन्ता आप्रवासीको संख्या होइन, बरू तीव्र वृद्धिदर हो। पछिल्लो दुई वर्षमा यो दर अचाक्ली बढेको थियो। त्यसैले नयाँ आप्रवासन रणनीतिको प्रभावलाई हामीले संकटको मानसिकताबाट मात्र हेर्नुहुँदैन,’ सिड्नीको प्रतिष्ठित विश्वविद्यालय युएनएसडब्लुका प्राध्यापक कृष्ण श्रेष्ठले भने।
यसअघि कोभिडको समयमा भिसा दुरूपयोग भएको, विद्यार्थीले नपढेको लगायत विषयमा समीक्षा भएको थियो। अस्ट्रेलिया आएर विद्यार्थीले कोर्ष हपिङ (अप्लाइ गरेकोभन्दा फरक कोर्स पढ्ने), कलेज बदल्ने, नपढ्ने (कलेजमा उपस्थिति असाध्यै कम हुने), काम मात्रै गर्ने लगायत समस्या थिए। उनका अनुसार पैसा कमाउने धुनमा एजेन्ट (कन्सल्टेन्सी) हरू सबै कुरा बिर्सिएर विद्यार्थी बेच्न लागे। कतिपय कलेजहरू नै यसरी लागे। यही पृष्ठभूमिमा आएको नयाँ आप्रवासी नीतिको निशाना यहाँको डिप्लोमा पढाउने भेट कलेजहरूप्रति पनि बढेको छ।
प्राध्यापक श्रेष्ठले भने, ‘कोभिड महाव्याधिको बेला यहाँ विद्यार्थीलाई काम गर्न धेरै नै खुला भयो। यसक्रममा डेढ वर्षमा एक्कासि ५ लाख १० हजार विद्यार्थी अस्ट्रेलिया प्रवेश गरे। कोभिड अगाडि यो सङ्ख्या २ देखि अढाइ लाखको बीचमा हुन्थ्यो। एक्कासि धेरै विद्यार्थी भए। यीमध्ये धेरै विद्यार्थीले पढेनन्। खासगरी नेपाली र इन्डियन विद्यार्थीकै बढी समस्या देखिएको हो। एकपछि अर्को गर्दै यस्तै खाले घटनाक्रमले पछिल्लो अवस्थाको सृजना भएको हो।’
अस्ट्रेलियाको लागि लो स्किल्ड होइन, हाई स्किल्ड माइग्रेसन मात्रै भित्र्याउने भन्ने चर्चा ३/४ वर्ष अघिदेखि नै थियो। महंगो पढाइ , काम र बसाइको खर्चिलो व्यवस्थापन गर्न प्रायः नेपाली विद्यार्थीहरू अस्ट्रेलियन सरकारले तोकेको साताको २४ घन्टे नीतिबाट मुस्किलको सामना गर्ने पक्का छ, तर पढ्न भनेर आएपछि पढाइभन्दा काम र पैसालाई बढी प्राथमिकता दिनु पनि उचित भने नहुने शैक्षिक व्यवसायी सागर लोहनी बताउँछन्।