ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक महत्त्व बोकेको पोखराको पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफामा पर्यटकीय आकर्षण बढेको छ । गुफाभित्रबाट मनोरम डेभिजफल (पातले छाँगो) को दृश्यावलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ ।
जमिनको सतहबाट एकसय मिटर पानीका थोपाले स्नान गर्दै ओरालो झरेपछि गुफाभित्र फराकिलो स्थानमा प्राकृतिक शिलामा महादेवको आकृतिको दर्शन गर्न पाइन्छ । शिव भगवानलाई दाहिने पार्दै सानो प्वालबाट निहुरिएर एक सय मिटरको दुरीभित्र पुगेपछि त्यहाँ फराकिलो ठाउँ छ ।
पत्रैपत्रा परेका चट्टानमा विभिन्न देवदेवीका आकृति देखिनुका साथै सिद्धार्थराजमार्गको प्राकृतिक पुलमुनीबाट उभिएर देखिने डेभिजफल (पातले छाँगो) सँगै तलाउको दृश्यले यहाँ आउने पर्यटकलाई आनन्दित बनाउने गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार २०५० साल पुसको अन्तिम साता रासस क्षेत्रीय कार्यालय पोखरासहितको टिम गुफामा प्रवेश गरेर प्रचारप्रसार गरेदेखिनै यसको धार्मिक एवम् पर्यटकीय महत्त्व बढेको हो ।
“पुसको २७ गते राससका साथै नेपाल टेलिभिजनमा प्रसारण भएको थियो । साथै ‘पोखरामा पाँच सय वर्ष पुरानो गुफा फेला पर्यो’ भन्ने शीर्षकमा गोरखापत्रमा समाचार प्रकाशन भएको थियो । सुरुमा प्रवेश गर्ने टिमलाई लाइटको व्यवस्था मैले नै गरेको थिएँ”, अध्यक्ष बाँस्तोलाले भने, “फोहर र सिस्नो पन्छाएर सानो प्वालबाट भिरालो स्थान अध्यारोपमा मैनबत्ती र इमर्जेन्सी लाइटको सहाराले गुफा प्रवेश गरेका थियौँ । अहिले ३० वर्ष पुगेछ ।”
उनले पछिल्लो समय रेलिङबारसहित सिँढी भएको बाटोको व्यवस्थाले पर्यटकलाई आवतजावतमा सहज हुनुका साथै सुरक्षामासमेत ध्यान दिइएको उनले बताए । गुफाभित्र अवस्थित शिवको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ दर्शणार्थी पटक–पटक यहाँ आउने गरेका बाँस्तोलाको भनाइ थियो ।