शिवपुरी पर्वतलाई केन्द्रमा राखेर ध्यान तपस्या र साधना गर्ने शिवपुरी बाबाले वि.सं. २०१९ सालमा काठमाडौंमा समाधी लिए । शिवपुरी बाबाको जन्म वि.सं. १८८२ सालमा भारतको केरलामा भएको थियो ।
सन् १९५८ मा १३२ वर्ष उमेर पूरा भएका स्वामी गोविन्द भारती अर्थात् शिवपुरी बाबा बारे अमेरिकी अखबार ‘शान्ता क्रुजले’ उनको तस्वीरसहित सन् १९५८ को अप्रिल ३० मा छापेको खबरको अंश भेटिएको छ । शान्ता क्रुजले मात्रै नभएर धेरै विदेशी पत्रिकाले उनको दीर्घ जीवन र योगदानको बारेमा चर्चा गर्दै प्रशस्तीमूलक समाचारहरू प्रकाशित गर्ने गरेका थिए ।
सन् १९२६ मा हिमालय पार गरेर तिब्बतबाट सय वर्षको उमेरमा उनी नेपाल आएका थिए । पैदलै सन् १८७५ देखि सन् १९१५ सम्म ४० वर्ष उनले पृथ्वीको परिक्रमा गरेका उनी भू-मध्य रेखाको चारैतिरको २५ हजार माइलभन्दा बढी भ्रमण गरिसकेपछि नेपाल आएका थिए । नेपाल प्रवेश गर्ने क्रममा उनले भनेका थिए – नेपाल तपोभूमि हो। त्यसैले यहाँ संसारभरका व्यक्ति खोज गर्न आइरहेका छन्, भविष्यमा पनि आउने छन् । ती व्यक्ति शिवपुरी डाँडामा धेरै वर्ष तपस्यामा बसेको हुनाले उनलाई शिवपुरीबाबा भनेर बोलाउन थालियो । तर, उहाँको संन्यास नाम भने गाविन्दानन्द भारती हो ।
यसअघि शिवपुरी बाबा बनारसमा पुगेर पण्डित मदनमोहन मालबियसँग केही दिन बसेका थिए। बनारस विश्वविद्यालय स्थापना गर्न पण्डितजीले जम्मा गर्न लागेका कोषमा बाबाले पचास हजार रुपैयाँ चन्दा स्वरुप दिए। उनलाई विश्वविद्यालयको कुलपतिको पद प्रदान गरिए पनि आफू सन्यासी भएको भन्दै उक्त पद शिवपुरी बाबाले अस्वीकार गरेका थिए।
उनी ९ वर्षको उमेरमा अनाथ भएका थिए र उनका हजुरबुवा अच्युतमले उनलाई हुर्काएका थिए। अच्युतम, टिपु सुल्तानको दरबारमा ज्योतिषी थिए र उनको गहना र मसलाको व्यापार थियो। आफ्नो हजुरबुवाको मृत्यु पछि, शिवपुरी बाबा ध्यान गर्न नर्मदा वन गएका थिए। त्यसपछि उनी ज्ञान फैलाउन संसारभरि यात्रामा गएका थिए ।
उनले ५० भन्दा बढी देशको भ्रमण गरेका थिए। उनले महारानी भिक्टोरिया, लियो टोलस्टोय र अल्बर्ट आइन्स्टाइन लगायतका त्यस समयका धेरै प्रमुख व्यक्तिहरूसँग भेट गरेका थिए । आफ्नो जीवनको पछिल्लो चरणमा शिवपुरी बाबा नेपाल आए र काठमाडौँको शिवपुरीको जङ्गलमा ध्यान गरेर बिताए । उनी करिब ४० वर्ष जङ्गलमा बसेका थिए।