- जीआर रञ्जित
सांस्कृतिक नगरहरूमा पाइने विभिन्न संस्कृतिक सम्पदाहरूमध्ये भैल प्याखं पनि एक हो । भैल प्याखं भन्नाले भैरव नाच भन्ने अर्थ लाग्दछ । यस नाचमा भैरवलगायत दस विभिन्न देवदेवीहरू हुने गर्छ । जसमा भैरव, महाकाली, बाराही, देवी, महालक्ष्मी, बेताल -३, र भुचा-२ जना हुने गर्छ भने यस नाचमा भैरव मुख्य हुने गर्छ । किंवदन्तीअनुसार एक समय नगरमा भूतप्रेतले धेरै दु:ख दिन थालेपछि राजाकोमा सो कुराको जाहेरी हुन पुग्यो । राजाले तत्काल तान्त्रिकलाई डाकेर क्रोधरूपी भैरवको आह्वान गरे ।
भैरवका साथ महाकाली, बाराहीलगायत अन्य देवीहरूले भूतप्रेतमाथि जीत हासिल गरेको खुसियालीमा नवदुर्गा नाचको सुरुवात भयो । यसै नवदुर्गा नाचको मनोरञ्जन स्वरूप नै भैल प्याखं हो । यस नाचमा भएका दस जना देवदेवीहरुले मण्डलाकार दाँचामा रहेर नाचिन्छ । नाच पछि देवी र महालक्ष्मीले सिंधनी र बागिनी माथी सवार भएर नाच निकाल्ने पछि नाच सकिन्छ । त्यस्तै नाचको बिचबिचमा कवांचा नाच, खिचा नाच, ख्यागोरा नाच नचाइन्छ ।
भैरवलाई मुख्य मानेर देखाउने नाचलाई भैल प्याखं भनिन्छ । भक्तपुरमा जम्मा तीनवटा भैल प्याखं नचाउने ख:लहरु छ्न् । १. बिश्वकर्मा भैल प्याखं २. तुछिमला भैल प्याखं ३. जेठा गणेश भैल प्याखं । विश्वकर्मा भैल प्याखं मल्लकालदेखि नै सुरूवात भएको थियो । पछि यो नाचले निरन्तरता पाउन सकेन र बन्द हुन पुगे । बन्द भएको यो नाच भाजुवीर प्रजापति, आसलाल प्रजापति, पुनक्वार, चक्र बहादुर प्रजापति, आसकुमार चुको लगायत अन्य ब्यक्तिहरुको सहयोगमा पहिला ऐलाननी छाबाय् हुँदै २०२५ सालदेखि २०७० सालसम्म चुकेननीको पुन कुमार प्रजापतिको घरमा अखछें हुन्दै २०७० देखि लिबी वाथीकुथी चोकमा सञ्चालन हुन थालेको थियो ।
यस ख:लको कोषको जिम्मा २०४५ सालदेखि विष्णुप्रसाद प्रजापतिले पाउनुभएको थियो । यसरी निरन्तर कोषाध्यक्ष भएर सञ्चालनमा आएको भैल प्याखंले २०६८ सालदेखि तलातुन्छी गणेशको द्य:छें र बिश्वकर्मा भैल प्याखंको अखंछें (टेराकोटा घर) बनिसकेपछि यसै घरमा भैल प्याखं सिकाउन थालियो । यो द्य:छे बनाउन ख:लले पटकपटक गरि दुई लाख पचास हजार रुपैयाँ चन्दा पनि दिएको थियो । यो नाच विशेषत गथेमंगलको दिनदेखि जनै पूर्णिमाका दिन सम्म सिकाउने गर्छ भने गाईजात्राको पर्सिपल्टबाट भक्तपुरका विभिन्न टोलहरूमा एक साता नचाउने गर्छ ।
यसबाहेक अन्य समयमा कसैले बोलाएको खण्डमा नाच्न लगिन्छ । एक वर्ष बिराएर यसै टेराकोटा घरमा भैल प्याखं सिकाउँदै आएको छ । पहिले प्रजापतिहरुले मात्र सञ्चालन गर्दै आएको भैल प्याखं हाल अन्य थरका व्यक्तिहरूलाई पनि अवसर दिइएको छ । हरेक वर्ष काठमाण्डौ, चौतारा, नारायणघाट लगायत देशका अन्य भेगमा नाच देखाउन लग्ने गर्छ । यसबापत आएको पारिश्रमिक यसै भैल प्याखंको कोषमा जम्मा गर्ने गर्छ ।